अर्घाखाँची — पाणिनि गाउँपालिका–६ को वडा कार्यालयले धातीवाङ गाउँमा रहेका ४६ जना जेष्ठ नागरिकलाई तीर्थयात्रा गराएको छ ।
अर्घाखाँचीबाट बाग्लुङ कालिका मन्दिर, म्याग्दीको तातोपानी कुण्ड र मुक्तिनाथको दर्शन गराएर तीन दिने यात्रा गराइएको वडाध्यक्ष कृष्णप्रसाद पौडेलले बताए ।
४६ जेष्ठ नागरिकसहित जनप्रतिनिधि र कर्मचारी गरी ६५ जना तीर्थयात्रामा सहभागी भएको उनले बताए । तीन दिने भ्रमणमा ९० वर्षसम्मका जेष्ठ नागरिक सहभागी भएका थिए ।
‘घरमै बस्ने जेष्ठ नागरिकलाई धार्मिक हिसाबले दर्शन गरुन् र मनोरञ्जन होस् भन्ने उद्देश्यले भ्रमण गराइएको हो,’ वडाध्यक्ष पौडेलले भने, ‘पोखरा, पाल्पा, पर्वतका विभिन्न ठाउँसहित मुक्तिनाथसम्म पुर्यायौं ।’
वडा कार्यालयको तीन लाख रुपैयाँ खर्चमा भ्रमण सम्पन्न भएको हो ।
गाउँमा रहेका वृद्धवृद्धाहरु कोही आर्थिक अवस्था नभएकै कारण तीर्थयात्रा गर्न नसक्ने र कोही छोराछोरी विदेश तथा सहरमा भएकाले इच्छा भएर पनि घरमै बस्न बाध्य जेष्ठ नागरिकलाई धार्मिक हिसाबले भ्रमण गराइएको उनको भनाइ छ ।
भ्रमणमा सहभागी ७२ वर्षीय धाचाबहादुर राष्कोटीले गाउँका सबै ज्येष्ठ नागरिकलाई धार्मिक गन्तव्यमा पुर्याएर वडा कार्यालयले राम्रो काम गरेको बताए । सबै एकैपटक धेरै धार्मिक तथा अन्य गन्तव्यमा घुम्न पाउँदा रमाइलो र मनोरञ्जन भएको उनको भनाइ छ ।
