अर्घाखाँची — मालारानी गाउँपालिका–४ निगालीटोलका स्थानीय डिलाराम रिजालले कुवामा फोहोर बनाइदिएको आरोपमा दलित युवती माथि कुटपिट गरेका छन् । मंगलबार बिहान २२ वर्षीय प्रिति विकलाई आफ्नो पधेंरोमा पानी भर्न आएको भन्दै सुरुमा गालीगलौज गरेका थिए । त्यसपछि विकले कुवा नछाडेपछि कुटपिट गरेका थिए ।
कुवामाथि मन्दिर रहेको र दलितले पानी भर्दा र कपडा धुँदा अछूतो हुने भन्दै गालीगलौजसहित रिजालले विकलाई लाठीले ढाडमा हानेका थिए । कुट्दै गर्दा विक चिच्याएर छिमेकीसँग गुहार मागेकी थिइन् । छिमेकी आएपछि रिजाल भागेका थिए । घाइते विकको अर्घाखाँची अस्पतालमा उपचार भैरहेको छ । उनको अवस्था सामान्य रहेको छ ।
कुटपिट गर्ने रिजाललाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएपछि पीडित विकका आफन्तले पक्राउ परेका रिजाललाई छाड्न भनेपछि बुधबार छाडेको छ । ‘यो गाउँका सबैले पानी खाने कुवा हो,’ विकले भनिन्, ‘बिहानै मैले कुवामा आएर कपडा धुँदै थिएँ । एक्कासी उहाँ (रिजाल) आएर किन कपडा धोएको, यहाँबाट गइहाल्नु भन्दै कराएर गमला, डोको, साबुन सबै फालिदिनुभयो ।’
प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले अनुसन्धान गर्दै जातीय भेद्भावले कुटपिट गरेको भन्दा कुवामा फोहोर बनाएका कारणले घटना भएको बताए ।
आफन्तले कुटपिट गरेको भन्दै उजुरी दिएपछि मंगलबार नियन्त्रणमा लिइएको र घाइते विकसहित आफन्तले नियन्त्रणमा रहेका रिजाललाई छाड्न भनेपछि बुधबार छाडिएको उनले बताए । जातीय छुवाछूतको जाहेरी थिएन, कुटपिटको उजुरीमात्रै भएको उनले बताए ।
रिजाललाई प्रहरीले निगरानीमै राखेको र जतिबेला पनि नियन्त्रणमा लिन सकिने उनले बताए ।
