बुटवलका ३० श्रमिक महिला नगदसहित सम्मान

वैशाख १७, २०८२

सन्जु पौडेल

30 women workers of Butwal honored with cash

तिलोत्तमा — अन्तर्राष्ट्रिय श्रमिक दिवसको पूर्वसन्ध्यामा बुटवल उपमहानगरपालिकाले ३० जना श्रमिक महिलालाई सम्मान गरेको छ । बुधबार एक कार्यक्रमकाबीच बुटवलमा सालको पात बेच्ने, मकै पोल्ने तथा ई–रिक्सा चलाउने महिलालाई जनही १० हजार रुपैयाँसहित सम्मान गरेको छ ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले चर्को घाम, चिसो र दिनरात नभनी जोखिमसहितको श्रम गर्ने श्रमिकको सम्मान गर्ने उद्देश्यले बुटवल उपमहानगरपालिकाले गत वर्षदेखि सम्मान गर्न थालेको बताए ।

श्रमको सम्मान गर्ने परिपाटीको विकास नहुँदा मुलुकमा बेथिति बढेको भन्दै पाण्डेयले श्रमिकलाई कुराले नभएर वास्तविक रूपमै श्रमको सम्मान गर्ने उद्देश्यले बुटवल उपमहानगरपालिकाले कार्य गरिरहेको जनाए । बुटवल उपमहानगरपालिका श्रमिकको पक्षमा, काम गरेर खानेको पक्षमा र कृषकको पक्षमा रहेको भन्दै उनले उपमहानगरपालिकाले सीप सिकेर स्वरोजगार बन्न चाहने नगरवासीलाई विभिन्न किसिमका सीपमूलक तालिम समेत प्रदान गर्दै आइरहेको जानकारी गराए ।

उपप्रमुख सावित्रादेवी अर्यालले स्थानीय सरकार श्रमिक वर्गको साथमा छ भन्ने अनुभूति गराउन बुटवल उपमहानगरपालिकाले हरेक क्षेत्रका श्रमिकलाई समेट्ने प्रयास गर्ने प्रतिबद्धता जनाइन् । यस्तो कार्य अन्य पालिकाले पनि गर्न जरुरी रहेको भन्दै उनले श्रमको सम्मान गर्ने परिपाटीको विकास भए मात्रै मुलुक समृद्ध बन्ने बताइन् । जनताको नजिकको सरकार भनेकै स्थानीय सरकार भएको बताउँदै उपप्रमुख अर्यालले स्थानीय सरकारले सानातिना कुरामा पनि ध्यान दिनुपर्नेमा जोड दिइन् ।

सन्जु पौडेल पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully