दानव नदी उत्खननले पारेको असर समाधान गर्न बेवास्ता गरेको स्थानीयको आरोप

वैशाख १६, २०८२

माधव ढुंगाना

Locals allege that they have neglected to solve the effects of the excavation of Danava river

भैरहवा — रुपन्देहीको शुद्धोधन गाउँपालिकास्थित दानव नदी किनारका स्थानीले दानव नदीको उत्खननबाट आसपासका समुदायमा पर्न गएको असरप्रति गाउँपालिकाले बेवास्ता गरेको आरोप लगाएका छन् ।

गाउँपालिकाले आफ्नो आम्दानी स्रोत बढाउन बर्सेनि नदीजन्य पदार्थको उत्खननका लागि दानव नदीमा ठेक्का लगाउने गरेको तर उत्खननबाट पार्ने क्षति न्यूनीकरण तथा समाधानका लागि स्थानीयसँग गरेको सहमतिको कार्यान्वयन गर्नेतर्फ चासो नदेखाएको भनाइ उनीहरुको छ ।

शुद्धोधन गाउँपालिकाको वडा नम्बर १ र ६ स्थित दानव नदी किनारका स्थानीयले नदीजन्य पदार्थको उत्खननका क्रममा बर्सेनि नदीको दोहन हुने गरेको र उत्खननकै कारण नदी किनारका जमिनमा हुने गरेको कटान नियन्त्रण गर्नेतर्फ गाउँपालिकाले चासो नदिएको आरोप लगाएका छन् ।

Locals allege that they have neglected to solve the effects of the excavation of Danava river

‘दानव नदीमा बर्सेनि गरिने नदीजन्य पदार्थको उत्खननबाट नदी किनारमा रहेका स्थानीयको खेत कटानले बगरमा परिणत भए र हुनेक्रम जारी छ,’ शुद्धोधन–६ मा विगत छ दशकदेखि बसोबास गर्दै आएका ६६ वर्षीय स्थानीय जितबहादुर रानाले भने, ‘गाउँपालिकाले नदी उत्खनन गरेर आम्दानी गर्छ तर स्थानीयको खेत कटान हुनबाट जोगाउन नदी नियन्त्रण तथा तटबन्ध गर्नेतर्फ ध्यान दिँदैन ।’

उनका अनुसार, शुद्धोधन–६ मा मात्रै दानव नदीले स्थानीयको ६० बिगाभन्दा धेरै खेत कटानबाट बगरमा परिणत भएको छ । मापदण्ड र नियम विपरीत मेसिन लगाएर रातारात ठेकेदारले नदी दोहन गरेर नदीजन्य पदार्थको उत्खनन् गर्दा पनि गाउँपालिका र नियमनकारी निकायले अनुगमन र कारबाही गर्दैनन् ।

दानव नदीको कटान गर्दा बलवा गाउँमा अहिले एउटा घर बाहेक सिंगो गाउँ नै विस्थापित हुन पुगेको छ ।

दानव नदीमा हुने उत्खननले पारेको असर र वस्तुस्थितिका बारेमा त्यस क्षेत्रका स्थानीयले मंगलबार सञ्चारकर्मीहरुलाई प्रभावित क्षेत्रको स्थलगत भ्रमण गराएका छन् ।

जथाभावी दोहनले नदीको सतह गहिरिँदै जाँदा आसपासका बस्तीमा पानीको स्रोत सुक्दै जान थालेको, सिँचाइमा समस्या हुन थालेको, पानी चुहाउँदै नदीजन्य पदार्थको ढुवानीले आसपासका ग्रामिण सडकमा ठूला ठूला खाडल परेको, खेत कटानको बर्सेनि बढ्दै जाने गरेको, नदीमा निर्मित पक्की पुलहरु जोखिममा परेको लगायतका समस्या निम्तिने गरेको स्थानीयले बताएका छन् ।

गाउँपालिकाका जिम्मेवार जनप्रतिनीधि र ठेकेदारको मिलोमतोमा नदीको दोहन हुने गरी नदीजन्य पदार्थको उत्खनन हुने गरेको आरोप समेत उनीहरुको छ ।

शुद्धोधन–१ का स्थानीय शम्भु चौहानले नदी उत्खननबाट हुने जोखिम नियन्त्रणका लागि गाउँपालिकाका जनप्रतिनीधिले नदी किनारमा तटबन्ध, सडक निर्माण, कालोपत्रे र मर्मत, मापदण्ड विपरीतको अवैध उत्खननमा रोक लगाउने सहमति गर्ने गरेपनि कार्यान्वयनमा बेवास्ता  गर्ने गरेको आरोप लगाए ।

‘बरु कतिपय जिम्मेवार जनप्रतिनीधिको उल्टै ठेकेदारसँग मिलोमतोमा नदीको दोहन हुने गरेको छ,’ चौहानले आरोप लगाए, ‘राष्ट्रिय गौरवका आयोजनाको नाममा जथाभावी उत्खनन गर्न दिएर कमिसनको चक्करमा परेर उपलब्ध गराएकोमध्ये २५–३० प्रतिशतमात्रै नदीजन्य पदार्थ सम्बन्धित आयोजनामा पुग्ने गरेको छ ।’

स्थानीयले लगाएको उक्त आरोपको भने शुद्धोधन गाउँपालिकाले भने वास्तविकता नभएको दाबी गर्दै खण्ड गरेको छ ।

शुद्धोधन गाउँपालिकाका प्रवक्ता तथा ४ नम्बर वडाका अध्यक्ष केशवप्रसाद अधिकारीले नदीजन्य पदार्थको ठेक्का लगाउँदा प्राप्त हुने कुल राजश्वको २५ प्रतिशत रकम सम्बन्धित वडामै छुट्याउने र स्थानीयको माग अनुरुप नदी कटान नियन्त्रणका काम गरेको बताए ।

‘मापदण्ड विपरीत कुनैपनि उत्खननका काम हुन दिएका छैनौं र बदमासी गर्ने ठेकेदारलाई कारबाही पनि गरेका छौं,’ उनले भने, ‘नदी कटानको समस्या पहिला अनियन्त्रित थियो अहिले तटबन्ध गरिए पनि नियन्त्रणमा छ ।’

माधव ढुंगाना ढुंगाना कान्तिपुरका भैरहवा संवाददाता हुन् ।

Link copied successfully