लुम्बिनीका पालिका उपप्रमुख/उपाध्यक्षलाई क्षमता विकास तालिम

वैशाख १६, २०८२

दीपेन्द्र बडुवाल

Capacity development training for Municipal Deputy Head/Vice President of Lumbini

भैरहवा — कार्यक्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्न सघाउने उद्देश्यले सामाजिक विकास मन्त्रालयले लुम्बिनी प्रदेशका १ सय ९ पालिका उप्रमुख र उपाध्यक्षका लागि मंगलबार क्षमता विकास तालिम सञ्चालन गरेको छ । 

रुपन्देहीको लुम्बिनीमा सञ्चालन भएको तालिममा प्रदेशभरिका पालिका उपप्रमुख र उपाध्यक्ष सहभागी थिए । तालिमको उद्घाटन गर्दै सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले पालिका उपप्रमुख र उपाध्यक्षले न्यायिक जिम्मेवारीपनि सम्हालिरहेको अवस्थामा उनीहरुमा रहेको कानुनी जटिलताका विषयमा सहजिकरणका लागि तालिम आयोजना गरिएको जानकारी दिए । 

‘यससँगै महिला, बालबालिका र ज्येष्ठ नागरिकका सवालमा कसरी प्रभावकारी काम गर्न सकिन्छ भनेर सिकाइएको छ,’ उनले भने, ‘मुख्य त कानुन व्यावसायीमार्फत उहाँहरुलाई कानुनी जटिलता कसरी हल गर्न सकिन्छ भनेर सिकाइएको छ ।’ प्रदेशमा न्यायिक समितिको प्रभावकारिता नदेदिएका कारण पहिलोपटक यस्तो तालिम आयोजना गरिएको उनले बताए । 

सामाजिक विकास मन्त्रालयका सचिव दिवाकर भण्डारीले पालिका उपप्रमुख/उपाध्यक्षबीच परिचयात्मक कार्यक्रममार्फत सहभागीको क्षमता विकास गर्न खोजिएको बताए । ‘स्रोत–साधनको परिधिमा रहेकर कसरी महिला, बालबालिका र ज्येष्ठ नागरिकका लागि उपयुक्त योजना छनोट गर्न सकन्छ भन्नेबारे सिकाइएको छ,’ उनले भने, ‘मुख्य त : न्यायिक समितिका कामकारबाहीबारे जानकारी दियौं ।’

तलिमको उद्घाटन सत्रमा सहभागी प्रदेश सांसद भोजप्रसाद श्रेष्ठ, भगवती घिमिरे, तुलसी चौधरी र चन्द्रकेश गुप्ताले स्थानीय तहमा न्यायिक समितिको जिम्मेवारी ठूलो भए पनि न्याय निरुपणमा प्रभावकारी भूमिका नदेखिएकाले यस्ता तालिमले क्षमता विकास गर्ने बताएका थिए । साथै उनीहरुले पालिका उपप्रमुख/उपाध्यक्षका लागि वर्षमा २/३ पटक यस्ता तालिम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । 

दीपेन्द्र बडुवाल

Link copied successfully