भेरी अस्पतालमा आगलागी, आकस्मिक बाहेकका सेवा बन्द

वैशाख १४, २०८२

रुपा गहतराज

Fire at Bheri Hospital, services closed except for emergencies

नेपालगन्ज — बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालको मेडिकल स्टोरमा आगलागीका कारण आइतबार र सोमबार आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. निराजन सुवेदीले शनिबार भएको आगलागीका कारण दुई दिन ओपीडीमा बिरामी जाँच र ल्याब सेवाको काम बन्द गरिएको जानकारी दिए ।

त्यसलाई सफा गर्नका लागि दुई दिन आकस्मिक बाहेकका सेवा बन्द गर्नुपरेको मेसु डा. सुवेदीले बताए ।

शनिबार ओपीडी बिल्डिङमा रहेको मेडिकल स्टोर (अस्पतालमा दिनहुँ खपत हुने सामान राख्ने कोठा) मा आगलागी भएको थियो । आगलागीबाट ओपीडी भवन, मेडिकल स्टोर र फार्मेसीमा क्षति पुगेको छ ।

भ्याक्सिन राख्ने फ्रिजबाट विद्युत् सट भएर आगो लागेको र करिब तीन-चार करोड क्षति भएको अनुमान गरिएको मेसु डा. सुवेदीले जानकारी दिए ।

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully