भैरहवा — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अहिले पनि आमसर्वसाधारण जनता बैंक तथा वित्तीय संस्थाको पहुँचमा पुग्न नसकेको बताएका छन् ।
नेपाल राष्ट्र बैंकको ७० औं वार्षिकोत्सव समारोहका अवसरमा सिद्धार्थनगर कार्यालयले आइतबार भैरहवामा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री आचार्यले सर्वसाधारण जनतालाई बैंक तथा वित्तीय पहुँचमा पुर्याउनेतर्फ राष्ट्र बैंकको ध्यान जान जरुरी रहेको बताए ।
बैंक तथा वित्तीय संस्थाबाट ऋण लिँदा एउटा दरको ब्याज हुने र तिर्ने बेलामा अर्को दरको ब्याज हुने गरेको आमजनगुनासो आउने गरेकाले यस विषयमा राष्ट्र बैंकले प्रभावकारी भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।
राष्ट्र बैंक, बैंकहरुको पनि बैंक हुने गरेकाले हरेक बैंकको वित्तीय कारोबार र स्थितिलाई नजिकबाट नियालेर वित्तीय संस्थाहरु सही ढंगले चलेका छन्/छैनन् ? भन्ने बारेमा अनुगमन र नियमन गर्न उनले राष्ट्र बैंकलाई आग्रह गरे ।
सिद्धार्थनगर नगरपालिकाका नगरप्रभमुख इश्तियाक अहमद खांले बैंक तथा वित्तीय संस्थासँग थुप्रिएको पैसालाई सरल र सहज ढंगबाट निजी व्यवसायीसमक्ष परिचालन गर्न सकिने योजना र नीति ल्याउन आवश्यक भएको बताए ।
सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले वित्तीय क्षेत्रको नियमनकारी निकाय नेपाल राष्ट्र बैंक भए पनि कतिपय गलत आर्थिक नीतिको सिकार निजी क्षेत्र हुने गरेको दाबी गरे ।
