घोषणा दमकल किन्ने, खरिद गरियो दुइटा स्कारपियो

बजेट अभाव देखाउने नगरपालिकाले जनप्रतिनिधिका लागि भने सुविधासम्पन्न सवारी किनेको भन्दै स्थानीयले विरोध जनाएका छन्

वैशाख १४, २०८२

नवीन पौडेल

Announcement to buy fire engines, purchased two Scorpios

परासी — पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले एकैपटक दुईवटा स्कारपियो खरिद गरेको छ । जनप्रतिनिधि र कार्यालय प्रयोजनका लागि भन्दै नयाँ सवारी खरिद गरिएको हो ।

सरकारले अनावश्यक खर्च कटौती र अत्यावश्यक बाहेक अन्य अवस्थामा सवारीसाधन खरिद नगर्ने नीति लिएको समयमा नगरले सवारी खरिद गरेपछि चौतर्फी विरोध भएको छ । बजेट अभाव देखाउने नगरपालिकाले जनप्रतिनिधिका लागि भने सुविधा सम्पन्न सवारी किनेको भन्दै स्थानीयले विरोध जनाएका छन् । सामाजिक सञ्जालमा जनप्रतिनिधिको चर्को विरोध भएको छ । 

नगरले केही दिनअगाडि ‘क्लासिक एस मोडलको’ दुई वटा स्कोरपियो १ करोड २२ लाखमा खरिद गरेको हो । नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद बगालेका अनुसार पहिला कार्यपालिका बैठकबाट गाडी किन्ने निर्णय गरेकाले कार्यालय प्रयोजनको लागि खरिद गरेको बताए । नगरमा दमकल अत्यावश्यक रहेको बताउँदै बगालेले दमकल खरिद गर्ने विषयमा पनि छलफल भइरहेको बताए ।  

गत माघमा सुनवल नगरापलिका-१२ भुमहीमा टायर गोदाममा आगलागी हुँदा लाखौंको क्षति पुगेको थियो । यसअघिका वर्षमा पनि नगरमा आगलागी हुँदा छिमेकी पालिकाबाट दमकल बोलाउनुपर्दा क्षति बढी हुने गरेको भन्दै नगर प्रमुख विमला अर्यालले दमकल खरिद गर्ने घोषणा गरेकी थिइन् । तर, अहिले दमकलको साटो सुविधा सम्पन्न सवारी किनेपछि चौतर्फी विरोध भएको हो ।

प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलेले नगरसभाबाट सवारीसाधन खरिदका लागि बजेट विनियोजन गरेअनुसार बजेट कार्यान्वयमा ल्याएको बताए । 'अन्य पालिकाले पनि सवारी खरिद गरेका छन्, यो नियमित प्रक्रिया हो । कानुनसम्मत भएका कामलाई अतिरञ्जित गर्न आवश्यक छैन,' पौडेलले भने ।

सवारीसाधन खरिदको विषयमा उपप्रमुख सूर्यप्रसाद दुबेले पनि असन्तुष्टि जनाएका छन् । अर्थ मन्त्रालयले नयाँ सवारी, तालिम, फर्निचरजस्ता योजना र काममा खर्च नगर्न पत्रचार गरेको थियो । 

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully