स्वरोजगारका लागि गरगहना बनाउन सिक्दै युवा

वैशाख १३, २०८२

रुपा गहतराज

Youth learning to make jewelery for self-employment

नेपालगन्ज — बाँके कोहलपुरका युवा सुनचाँदीका गरगहना बनाउन सिक्दै छन् । कोहलपुर नगरभित्रका दलित, विपन्न गरी दुई महिलासहित १० युवा सुनचाँदीका गहना बनाउन सिकिरहेका हुन् । सहभागीहरूलाई शंकरवीर विकले प्रशिक्षण गराइरहेका छन् । 

मध्य तथा सुदूरपश्चिम सुनचाँदी गहना व्यवसायी संघको आयोजनामा सुनचाँदी गहना निर्माणसम्बन्धी एक महिने आधारभूत तालिम सुरु भएको हो । कोहलपुर नगरपालिकाको सहयोगमा पहिलोपटक यस्तो तालिमको आयोजना गरिएको नगर प्रमुख पूर्ण आचार्यले बताए ।

बेरोजगारी सबैभन्दा ठूलो समस्या रहेको भन्दै संघको आग्रहमा कालिगड बनाउने उद्देश्यले नगरपालिकाले सहयोग गरेको उनको भनाइ छ । ‘रोजगार र आत्मनिर्भर बन्नका लागि सीप र ज्ञान आवश्यक छ,’ नगर प्रमुख आचार्यले भने ,‘अहिले धेरै युवा लागुऔषधको दलदलमा फसिरहेका छन् । गहना निर्माण तालिमबाट प्रतिफल निस्कियो भने यसलाई आगामी दिनमा निरन्तरता दिनेछौं ।’

Youth learning to make jewelery for self-employment

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष तथा केन्द्रीय सदस्य देवीलाल सुनारले स्थानीय सरकारको सहयोगमा पश्चिम क्षेत्रमा पहिलोपटक तालिम प्रदान गरिएको बताए । ‘यो तालिमले दक्ष युवा कालिगड उत्पादन हुनेछन् भन्ने विश्वास लिएका छौं,’ उनले भने, ‘परम्परागत पेसालाई संरक्षण गरेर नयाँ पुस्तालाई पुस्तान्तरण गर्न आवश्यक छ ।’

स्वदेशमै केही गरौं भन्ने सोच भएका युवालाई सीपयुक्त बनाउन र स्वरोजगार बन्नका लागि तालिमले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । कोहलपुरमा एक सय जनाभन्दा बढी सुनचाँदी व्यवसायी रहेका छन् ।

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully