बौद्ध शिक्षा संसारभर फैलाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

वैशाख १३, २०८२

कान्तिपुर संवाददाता

Prime Minister's emphasis on spreading Buddhist education around the world

लुम्बिनी — प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्व र द्वेष बढेको वर्तमान परिस्थितिमा महात्मा बुद्धद्वारा प्रतिपादित शान्तिको मार्गमा हिँड्न सबैलाई प्रेरित गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले बुद्धले देखाउनुभएको अहिंसा र शान्तिको मार्गलाई संसारभर फैलाउने बेला आएको बताए।

बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि सुरु भएको चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस किसिमका कार्यक्रमहरूले लुम्बिनीलाई अन्तर्राष्ट्रिय बौद्ध दर्शन र शिक्षाको अझ ठूलो केन्द्रबिन्दु बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले भने, 'दुनियाँमा युद्धका बादलहरू मडारिरहेको अवस्थामा युद्ध गर्नका लागि, सैन्य शक्तिलाई परिचालन गर्नका लागि जल, स्थल र आकाश सबै ठाउँबाट आक्रमण गर्न सकिने अत्याधुनिक हतियार निर्माण भएका छन्। यो विश्व शान्तिका लागि चुनौती बनेको छ,' उनले थपे, 'संसारमा खतरनाक हतियारहरूको निर्माण भइरहेको छ, युद्ध र हिंसाबाट शान्ति स्थापना हुन सक्दैन।'

प्रधानमन्त्री ओलीले बौद्ध धर्म, कला, साहित्य, इतिहास, अनुसन्धान र अन्तर्संवादका माध्यमबाट एसियाली बौद्ध संस्कृति र सम्पदाको प्रवर्द्धन गरी विश्व शान्ति स्थापनामा महोत्सवबाट सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरे।

उनले लुम्बिनीमा बुद्धका विचारहरूका बारेमा शिक्षा ग्रहण गर्ने, प्रवचन दिने, मन्थन गर्ने र ध्यान विपश्यना गर्नेजस्ता कार्यक्रमका लागि उपयुक्त स्थानको व्यवस्था गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको ध्यानाकर्षण गराए ।

बौद्ध संस्कृति, चिनियाँ संस्कृति, कला, परम्परागत बौद्ध चिकित्सा तथा बौद्ध शिक्षामा केन्द्रित रहेर ४० वटा कार्यपत्र महोत्सवमा प्रस्तुत गरिने जनाइएको छ।

महोत्सवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो। महोत्सवमा ४० देशका प्रतिनिधिहरू सहभागी छन्। महोत्सव लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामाको अध्यक्षतामा आयोजना भएको हो।

यो महोत्सव बौद्ध दर्शन र संस्कृतिको प्रवर्द्धन गरी विश्व शान्ति र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले लुम्बिनी विकास कोष, सारिपुत्र फाउण्डेशन नेपाल र चिनियाँ संस्कृति प्रवर्द्धन समाजले आयोजना गरेको हो।

कान्तिपुर संवाददाता

Link copied successfully