बुटवल — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल र चीनबीचको प्राचीन सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने अवसर आएको बताएका छन् ।
नेपाल–चीन बौद्ध संस्कृति र कला विषयक दुईदिने अन्तर्राष्ट्रिय गोष्ठीको शनिबार लुम्बिनीमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले नेपाल र चीनबीचको प्राचीन सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने अवसर रहेको बताएका हुन् ।
लुम्बिनी बौद्ध विश्वविद्यालय, चिनियाँ संस्कृति प्रवर्द्धन समाज, लुम्बिनी विकास कोष र सारीपुत्र प्रतिष्ठानको संयुक्त आयोजनामा लुम्बिनीमा शनिबारदेखि दुईदिने सेमिनार सुरु भएको छ । सेमिनारले नेपाल र चीनबीचको सांस्कृतिक, धार्मिक र बौद्धिक सम्बन्धलाई थप मजबुत बनाउने उनले बताए ।
‘लुम्बिनी केवल नेपालको गहना मात्र होइन, यो विश्व शान्ति र बौद्ध दर्शनको स्रोत हो,’ उनले भने, ‘बुद्धले यही भूमि लुम्बिनीबाट विश्वलाई शान्ति, बन्धुत्व, अहिंसा, करुणा र समानताको सन्देश दिनुभएको हो ।’ नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धलाई आधुनिक सन्दर्भमा पुनर्जीवित गर्दै सांस्कृतिक, आर्थिक र बौद्धिक सहकार्यको नयाँ अध्याय लेख्ने प्रयत्न आजको आवश्यकता भएको मुख्यमन्त्री आचार्यले बताए । उनले सेमिनारले बौद्ध दर्शन, कला र संस्कृतिको गहिराइलाई उजागर गर्ने उनले विश्वास व्यक्त गरेका छन् ।
चीनको आर्थिक विकासको प्रशंसा गर्दै मुख्यमन्त्री आचार्यले नेपालले चीनसँगको सहकार्यबाट आर्थिक उन्नति, व्यापार विस्तार र पूर्वाधार विकासमा ठुलो फाइदा लिन सक्ने बताए । विशेषगरी लुम्बिनीलाई विश्व शान्ति र बौद्ध पर्यटनको केन्द्र बनाउन चिनियाँ लगानी र प्राविधिक सहयोग अत्यन्त उपयोगी हुने उनको भनाइ थियो ।
