पाल्पा — पाल्पाको तिनाउ गाउँपालिका–३, झुम्सास्थित तिलोत्तमा सामुदायिक वन उपभोक्ताको जंगलमा मानव कंकालसहितको शव फेला परेको छ । सामुदायिक वनको आँपखोला किनारमा पहिचान खुल्न नसकिने अवस्थामा पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पो जनाएको छ ।
प्रहरीका अनुसार शव सडेगलेको अवस्थामा रहेको छ । त्यसैले पनि पहिचान गर्न नसकिएको हो । धेरै दिनअघि मृत्यु भइसकेको र कंकालसमेत देखिएकाले चिन्न नसक्ने अवस्थामा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका हुन् ।
खबरलगत्तै प्रहरी चौकी दोभान र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धानपछि शव पोष्टमार्टमको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल प्रधानले बताए ।
बेवारिसे अवस्थामा भेटिएको शव शरीरका सम्पूर्ण भाग सडेर गलेको र करङको भाग तथा हड्डी र कंकाल मात्र रहेको प्रहरीले जनाएको छ । हरियो, कालो र सेतोमा चेक भएको फूल बाहुले स्वीटर लगाएको, भित्रपट्टी पहेलो रंगको स्वीटर र कालोमा सेतो मसिनो धर्का भएको पाइन्ट, भित्र सेतोमा कालो बुट्टा भएको कट्टुसमेत लगाएको देखिने प्रहरीले हुलिया सार्वजनिक गरेको छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
