बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि बढाउन नेचर गाइडको सम्पर्क कार्यालय स्थापना

वैशाख १२, २०८२

रुपा गहतराज

Establishment of Liaison Office of Nature Guides to increase tourism activities in Banke National Park

नेपालगन्ज — बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि बढाउन तथा पर्यटकलाई निकुञ्जभित्र घुमफिरमा सहज बनाउनका लागि नेचर गाइड (प्रकृति पथ प्रदर्शक) एसोसिएसनको सम्पर्क कार्यालय बाँकेको कोहलपुरमा स्थापना गरिएको छ ।

पर्यटकलाई घुमाउनका लागि मध्यवर्ती क्षेत्रका अहिले १५ जना लाइसन्स प्राप्त नेचर गाइड रहेका छन् । जंगल तथा वन्यजन्तु तथा वनस्पतिका बारेमा ११ दिनको पूर्व तालिम दिएर १५ जना नेचरगाइड तयार पारिएको हो । 

बाँके राष्ट्रिय निकुञ्ज तथा जेडएसएलले नेचरगाइड एसोसिएसन बाँकेलाई चार वटा दुरबिन प्रदान गरेको छ ।नेचरगाइड एसोसिएसन बाँकेका अध्यक्ष भीमबहादुर डागीले स्वदेशी तथा विदेशी पाहनालाई सरक्षित तरिकाले निकुञ्ज घुमाउन तथा निकुञ्जको प्रचारप्रसार बढाउन नेचर गाइडको प्रमुख भूमिकामा रहने बताए । 

‘पाहुनालाई कसरी स्वागत गर्ने निकुञ्जको प्रचारप्रसार कसरी बढाउने मुख्य जिम्मेवारी नेचर गाइडको हो ,’ उनले भने, ‘एउटा घुमेर गएको पाहुनाले अरुलाई घुम्न ल्याउन भन्ने वातावरण निर्माण गराउन जरुरी छ ।’

निकुञ्जमा घुम्न आउने पर्यटकलाई दृष्टिगत गरी निकुञ्ज मुख्यालय ओभरी र कोहलपुरस्थित सेक्टर कार्यालयबाट जुनसुकै समयमा पनि टिकट काट्ने व्यवस्था मिलाइएको छ । निकुञ्जमा घुम्न जीप सफारी, हात्ती सफारीको व्यवसथा गरिएको छ । 

निकुञ्जमा स्वदेशीलाई प्रतिव्यक्ति १०० रुपैयाँ सार्क राष्टकालाई ७५० रुपैयाँ, विदेशी नागरिकलाई १५ सय प्रवेश रुपैयाँ शुल्क निर्धारण गरिएको छ । 

बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले निकुञ्जमा सजिलै वन्यजन्तु देख्न सकिने, निकुञ्जमा जीप सफारीका लागि सबै नाका खुल्ला भइसकेको बताए । ‘वन्यजन्तुका लागि बासस्थान व्यवस्थापन भएसँगै बाघ, चौका, जरायो लगायका वन्यजन्तुको अवलोकन सहज भएको छ । त्यसैले निकुञ्जले पर्यटकको सहजताका लागि कार्यालय स्थापना गरिएको हो,’ उनले भने, ‘सबै पक्षले पर्यटक भित्राउनेतर्फ ध्यान पुर्‍याउन सक्यौँ भने संरक्षणलाई सम्वृद्धितर्फ जोडन सम्भव छ ।’

निकुञ्जमा स्थापनाको छोटो समयै संरक्षणमा रहेका साझेदार संस्थाको सक्रियताले गर्दा मानव वन्यजन्तुबीचको द्वन्द्वसमेत घट्दै गएको बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्रकुमार खड्काले बताए । 

पछिल्लो समय मध्यवर्ती क्षेत्रका नागरिक वनजंगलको परनिर्भरतालाई घटाउँदै गएका छन् । जसकारण मध्यवर्ती क्षेत्रका नागरिक आयआर्जनमासमेत जोडिन थालेका छन । 

नेचरगाइडहरुले आफ्नो क्षमतालाई अब्बल बनाउनुपर्ने र निकुञ्जको प्रचार प्रसारका लागि एम्बास्डरको रुपमा आफूलाई स्थापित गर्नुपर्ने तराई भूपरिधि परियोजनाका प्रबन्धक रामकिशोर यादवले बताए ।

जेडएसएल नेपाल कोहलपुर कार्यालयका प्रमुख सन्जय कँडेलले नेचरगाइहरुलाई चाहिने प्रविधिक सहयोग गरिरहेको सुनाए ।

नेचरगाइड एसोसिएसनका सल्लाहकार कृष्ण चौधरी बाँके राष्ट्रिय निकुञ्ज छ भनेर सबैले प्रचारप्रसार बढाएमा पर्यटकको कुनै दिन कमी नहुने बताए ।

कार्यक्रममा एनटिएनसी बर्दिया प्रमुख अजित तुम्बाहाम्फे, रण बम गण गणपति प्रमुख सेनानी प्रवीन थापा, नेचरगाइड र मध्यवर्ती उपभोक्ता समितिका अध्यक्षको सहभागिता रहेको थियो । 

निकुञ्जभित्र बाघको संख्या चारबाट बढेर अहिले पच्चिस पुगेको छ । आहारा प्रजातिको संख्या पनि बढेको छ  

पर्यटनलाई केन्द्र बिन्दुमा राखेर काम गरिरहेको बताउँदै निकुञ्जभित्र वन्यजन्तु अवलोकन गर्नका लागि मचान, घाँसे–मैदान, कृत्रिम पानी पोखरी, वनपथजस्ता पूर्वाधार निर्माण गरिएको छ । 

दुर्लभ पाटेबाघ संरक्षण गर्ने उद्देश्यले २०६७ सालमा स्थापना भएको यो मुलुककै कान्छो राष्ट्रिय निकुञ्ज हो ।

रुपा गहतराज गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully