गुल्मी — गुल्मीमा गोठमा आगलागी शुक्रबार हुँदा ६ वर्षीय बालकको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका-१ नयाँगाउँका गणेश नेपाली र मनी नेपालीको छोरा ६ वर्षीय बिवेक नेपालीको आगलागीबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।
विवेक र उनकी दिदी ९ वर्षीया अस्मी नेपाली लाइटर लिएर गोठमा खेलिरहेका थिए । विवेकले लाइटर खोसेर खरमा आगो बाल्ने क्रममा आगो दुई तले कच्ची गोठमा फैलिएको थियो । विवेकको मृत्यु हुनुका साथै दुई तले कच्ची गोठ पूर्ण रुपमा जलेर नष्ट भएको छ ।
आगो दनदनी बलेपछि दिदी अस्मी हारगुहारका लागि बाहिर गएको तर भाइ विवेक दोस्रो तलामा जलेको अवस्थामा मृत फेला परेका छन् ।
मृतक विवेकका बुवा रोजगारीको सिलसिलामा भारतमा रहेको र आमा कामका लागि बारीमा गएको बेला घटना भएको वडाध्यक्ष चेतमान कुँवरले जानकारी दिए । विवेकले तल्लो तलाको छेउबाट आगो लगाएर उपल्लो तलामा लुक्न जाँदा उनले ज्यान गुमाएको वडाध्यक्ष कुँवरले बताए ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक लक्ष्मण विकको नेतृत्वमा ७ जनाको टोली खटिएको छ ।
