गुल्मी र बाग्लुङका पाँच पालिकाबीच भलिबल प्रतियोगिता

वैशाख ११, २०८२

सन्तोष महतारा

Volleyball tournament between five municipalities of Gulmi and Baglung

गुल्मी — गुल्मीको चन्द्रकोट गाउँपालिकाको आयोजनामा तेस्रो अध्यक्ष कपअन्तर्गत अन्तरपालिका खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सञ्चालन भएको छ । बिहीबारदेखि शान्तिपुरमा दुई जिल्लाका पाँच पालिकाका १६ टिमले प्रतिस्पर्धा गर्दै छन् । 

प्रतियोगितामा आयोजक चन्द्रकोट गाउँपालिकाका १०, मुसिकोट नगरपालिकाबाट २, कालीगण्डकी गाउँपालिकाबाट १, बागलुङको बडिगाड गाउँपालिकाका १ र बरेङ गाउँपालिकाका २ गरी जम्मा १६ टिम सहभागी छन् ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ७० हजार, ५० हजार र ३० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेलले बताए । उनका अनुसार विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार प्रदान गरिनेछ ।

तेस्रो अध्यक्ष कप भलिबल प्रतियोगिता साढे ५ लाख बजेटमा सञ्चालन हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए । बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापाले यस्ता खेलकुद प्रतियोगिताले खेलकुदको विकाससँगै स्वच्छ प्रतिस्पर्धा र मित्रता कायम रहने विश्वास गरिन् । जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीले भलिबल प्रतियोगितामा चन्द्रकोटसहित आसपासको क्षेत्रको बढी लगाव रहेको बताए । 

खेलकुद क्षेत्रको विकासका लागि अध्यक्ष कप भलिबल प्रतियोगिता आयोजना गरिएको चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसीको भनाइ छ ।

सन्तोष महतारा

Link copied successfully