फेसबुक अकाउन्टबाट हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ

वैशाख ११, २०८२

मनोज पौडेल

Two people were arrested for displaying weapons on Facebook accounts

कपिलवस्तु — टिकटक अकाउन्टबाट पेस्तोलसहित हतियार प्रदर्शन गरेको आरोपमा एक जना पक्राउ परेको एक साता नपुग्दै फेसबुक अकाउन्टबाट हतियार प्रदर्शन गर्ने दुई जना पक्राउ परेका छन्।

शुद्धोधन गाउँपालिका–३ असैरनाका २१ वर्षीय दुर्गेश यादव र सोही पालिका–४ का २५ वर्षीय अनिलकुमार कहारले आफ्नो फेसबुक अकाउन्टमा हातहतियारसहितको फोटो तथा भिडियो बुधबार अपलोड गरेका थिए। दुवैले कम्मरमा पेस्तोल बाँधेको तस्बिर र भिडियो सार्वजनिक गरेका थिए।

उनीहरूले बनाएको भिडियोले स्थानीयमा डर, त्रास र आतंक सिर्जना गरेको सूचना प्राप्त भएपछि प्रहरी चौकी लबनिबाट खटिएको टोलीले दुवैलाई घरबाटै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्टले जानकारी दिए।

समाजमा शान्ति सुरक्षामा खलल पुर्‍याएको अभियोगमा जिल्ला प्रशासन कार्यालयबाट सात दिनको म्याद थप गरी घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीहरूले फेसबुकमा देखाएको पेस्तोल कहाँबाट ल्याइएको हो र कसरी भिडियो बनाइएको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ।

यसअघि, वैशाख ७ गते शुद्धोधन गाउँपालिका–६ महादेवा निवासी २१ वर्षीय रघुविन्द यादव टिकटक अकाउन्टबाट पेस्तोलसहितको हतियार प्रदर्शन गरेको आरोपमा पक्राउ परेका थिए।

मनोज पौडेल

Link copied successfully