दुईदिने लुम्बिनी वर्ल्ड हेरिटेज कन्फरेन्स सुरु

वैशाख ११, २०८२

मनोज पौडेल

Two-day Lumbini World Heritage Conference begins

लुम्बिनी — बुद्ध जन्मस्थल लुम्बिनीमा दुईदिने लुम्बिनी वर्ल्ड हेरिटेज कन्फरेन्स बुधबारबाट सुरु भएको छ । बुद्ध जन्मस्थल लुम्बिनीलाई विश्व सम्पदास्थलको खतराको सूचीबाट हटाउन गरिएका कामबारे जानकारी दिने उद्देश्यले आयोजित कन्फरेन्समा पुरातत्वविद्, सम्पदाविद्, अनुसन्धानकर्मी र स्थानीय जनप्रतिनिधि सहभागी छन् ।

दिल्लीमा गत साउनमा आयोजित युनेस्को वर्ल्ड हेरिटेज कमिटीको ४६ औं सेसनमा लुम्बिनीलाई सम्भावित खतराको सूचीबाट जोगाउन सरकारले विज्ञ, पुरातत्वविद् र सम्पदाविद्लाई सहभागी गराएर अन्तर्राष्ट्रिय सम्मेलन गर्ने प्रतिबद्धता गरे अनुसार अहिले यहाँ कन्फरेन्स गरिएको हो । 

कन्फरेन्समा युनेस्को वर्ल्ड हेरिटेज कमिटीले गरेको सिफारिस अनुसार भए/गरेका कामबारे जानकारी दिइने बताइएको छ । कन्फरेन्समा लुम्बिनी प्रदेश मुख्यमन्त्री चेतनारायण आचार्यले विश्व आस्थाको केन्द्र लुम्बिनीमा धेरै सुधारका काम भएकाले युनेस्कोले खतराको सूचीमा राख्न नहुने बताए । 

‘विगतमा भएका कमी कमजोरीलाई अहिले धेरै सुधारका प्रयासले सम्पदामैत्री काम भएको छ’, उनले भने, ‘अब लुम्बिनी विश्वकै गन्तव्य बन्छ ।’ कन्फरेन्समा संघ, प्रदेश र स्थानीय तह मिलेर पुरातात्विक सम्पदा संरक्षण गर्न लागेर काम गर्ने प्रतिबद्धता गरेका छन् ।

कन्फरेन्सको पहिलो दिन संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव बिनोदप्रकाश सिंह, युनेस्को विश्व सम्पदा केन्द्रका नेपाल फोकलपर्सन डा. रोल्यान लिन, बेलायतको डुर्‍हाम विश्वविद्यालयका प्रोफेसर पुरातत्वविद् डा. रबिव कनिङघम, लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्याहारक्याल लामा, युनेस्को नेपालका नभा बस्नेत थापा, भारतीय दूतावासकी प्रतिनिधि गरिमा नुतियाल, पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवर, कपिलवस्तु नगरपालिका नगरप्रमुख सुदीप पौडेल, लुम्बिनी विकास कोष सदस्यसचिव सानुराजा शाक्य र लुम्बिनी प्रदेश सदस्य सिके गुप्ता लगायतका बोलेका थिए ।

कार्यक्रममा बेलायत, जापान, फ्रान्स, भारत, नेपाल र जर्मनका विज्ञ, विशेषज्ञ सहभागी छन् ।

मनोज पौडेल

Link copied successfully