जंगलको डढेलो बस्तीमा सल्किँदा घरगोठ जलेर नष्ट

वैशाख १०, २०८२

माधव अर्याल

When the forest fire ignited in the settlement, the house was destroyed by fire

पाल्पा — जंगलमा लागेको डढेलो बस्तीमा पस्दा पाल्पाको निस्दी गाउँपालिका–१, बाँकामलाङ्मा घरगोठ जलेको छ । बाँकामलाङ्को जुरेडाँडास्थित बन्चरेडाँडा जंगल क्षेत्रमा लागेको डढेलो बस्तीमा पसेपछि स्थानीय दिलबहादुर सारुको घरगोठ जलेको स्थानीय शालिकराम पाण्डेयले जानकारी दिए । 

जंगलको आगो हावाहुरीले उडाएर खरले छाएको गोठमा पसेको र त्यसले घरगोठ दुबै नष्ट पारेको हो । गोठमा रहेको गाई, भैसी, २० वटा बाख्रा, अन्नपात, भाडाकुँडा, लत्ताकपडा समेत जलेर नष्ट भएको प्रहरी चौकी केलादी पाल्पाले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा २५ लाख बराबरको क्षति भएको छ । सारुको घरसंगै अन्य थप दुई घर रहेको र क्षति हुनबाट जोगाएका थिए । 

स्थानीय बासिन्दा जंगलको डढेलो बस्तीमा आउन नदिन निभाउन गएका बेला हावाहुरीले सारुको गोठमा आगो सल्केको थियो । डढेलो मंगलबार दिउँसो बन्चरेडाँडा जंगल क्षेत्रबाट सुरु भएको स्थानीय बासिन्दाले बताएका छन् ।

आगलागी पीडित सारुलाई तत्काल राहतका लागि पछौटेपन उन्मुलन समाज (बेस) नेपालले तत्काल राहतका लागि ५ हजार सहयोग गरेको पाण्डेयले बताए । जिल्लाको तिनाउ गाउँपालिका–५, कोलडाँडाको जंगलक्षेत्रमा पनि डढेलो लागेको छ । 

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully