काठमाडौँ — लुम्बिनी प्रेस क्लब र पत्रकार महासंघ, रुपन्देही शाखाले समाचार संकलनक्रममा रुपन्देहीको मायादेवी गाउँपालिका–६, मर्चवारमा एपीवान टेलिभिजनका संवाददाता राधेश्याम विश्वकर्मामाथि एक समूहले सोमबार गरेको आक्रमण प्रयासमा संलग्नमाथि कारबाहीको माग गरेका छन्।
दुवै संस्थाले मंगलबार मध्यान्ह प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेलाई ज्ञापन पत्र बुझाउँदै उक्त समूहले सामान ओसारपसार गरिरहेको दृश्य खिच्ने क्रममा विश्वकर्मालाई घेरा हालेर भौतिक आक्रमण प्रयास गरेको र क्यामेरामा कैद गरिएका दृश्य हटाउन बाध्य पारेको उल्लेख गरेका छन्।
स्थानीय प्रहरी अधिकारीकै उपस्थितिमा क्यामेरा खोसेर दृश्य हटाउन बाध्य तुल्याउनु प्रेस स्वतन्त्रता विपरीत कार्य भएको जनाउँदै दुवै संस्थाले घटनामा संलग्न दीपेश यादव समूहलाई तत्काल पक्राउ गरेर कारबाहीको दायरामा ल्याउन माग गरेका छन्। लुम्बिनी प्रेस क्लबका महासचिव प्रकाश न्यौपाने र अध्यक्ष कमल रायमाझीद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा घटनाको जानकारी गराउने बित्तिकै प्रहरीले आक्रमण प्रयासमा संलग्न आरोपी दीपेश यादव पक्राउ परिसकेको जनाएको उल्लेख छ।
प्रहरीले दिउँसो आरोपी पक्राउ परिसकेको र कारबाहीको दायरामा ल्याइने जनाए पनि सोमबार साँझ यादव पक्राउ नै नपरेको दाबी गर्नुले घटनामा सुरक्षा निकायको मिलेमतोको आशङ्का बलियो भएकाले तत्काल छानबिन गरेर दोषीलाई कारबाही गर्न प्रेस क्लबद्वारा बुझाइएको ज्ञापन पत्रमा माग गरिएको छ।
पत्रकार महासंघ अध्यक्ष दिनेश पाण्डेले ज्ञापन पत्र बुझाउँदै समाचार संकलनमा खटिएका पत्रकारमाथि सामूहिक आक्रमणको प्रयास हुनु आफैँमा संवेदनशील विषय भएको बताए। ‘क्यामेरामा कैद गरिएका दृश्य प्रहरीकै सामु हटाउन लगाउनु अत्यन्त गम्भीर विषय हो,’ अध्यक्ष पाण्डेले भने, ‘झन् पक्राउ परेर प्रहरी हिरासतमा रहेका भनिएका व्यक्ति भाग्नु गम्भीर लापरबाही हो।’ महासंघले घटनालाई सामान्य रूपमा नलिन र दोषीलाई पक्राउ गरेर तत्काल कारबाही गर्न माग गरेको छ।
प्रमुख जिल्ला अधिकारी घिमिरेले स्वतन्त्र रूपमा समाचार संकलन गर्ने क्रममा पत्रकारमाथि आक्रमण प्रयास गरिनु दुःखद भएको जनाए। ‘क्यामेरामा कैद गरिएका दृश्य प्रहरीकै सामुन्ने हटाउन लगाएको साँचो हो भने झन् गम्भीर भयो,’ उनले भने, ‘यसबारे छानबिन गरेर दोषीलाई कारबाहीको दायरामा ल्याइने छ।’ छानबिन क्रममा प्रहरीले पक्राउ गरिसकेका आरोपी हिरासतबाट भगाएको पुष्टि भएमा संलग्न सबैलाई उनीहरूको कसुरअनुसार सजाय गरिने उनले आश्वासन दिए।
