लुम्बिनी — कटुसटाउके मुरलीचराको अहिले भैरहवा–तौलिहवा सडक खण्डमा पर्ने रूपन्देहीको दानव नदी छेउछाउ निकै व्यस्तता बढेको छ । नदी छेउछाउको उचो भागमा प्वाल बनाएर ओथारो बस्न गुँड बनाउने तयारी गरिरहेको छ ।
उता कपिलवस्तुको तिलौराकोट साझेदारी वनको पूर्वी उत्तरी क्षेत्रमा मनमोहक स्वर्गचरीको उस्तै चहलपहल छ । स्वर्गचरीले वनको वातावरण मन्त्रमुग्ध बनाएको छ । गुँड लगाउने सुरक्षित ठाउँको चाजोपाजो मिलाउने तयारीमा छ ।
यी दुवै गृष्म आगन्तुक चरा हुन् । सबैभन्दा पहिले माघको दोस्रो र तेस्रो सातातिर दक्षिणपूर्वी एसियाबाट कटुसटाउके मुरलीचरा चितवन आएको वरिष्ठ चराविद् डा. हेमसागर बरालले बताए । धरान हुँदै चितवन पुग्यो । त्यसपछि आफू अनुकुल हुने ठाउँ रोज्छन् । कटुसटाउके मुरलीचरा आएको महिनादिनपछि फागुन दोस्रो या तेस्रो सातातिर उत्तर पूर्वी भारततिरबाट सुन्दर स्वर्गचरी आएको हो । त्यसपछि बिस्तारै अरु चरा आउन थालेको उनले बताए ।
कपिलवस्तुको तिलौराकोट साझेदारी वनमा देखिएको आगन्तुक स्वर्गचरी चरा ।
उनीहरू जस्तै अन्य गृष्मकालीन आगन्तुक चरा पनि हजारौं माइल यात्रा गर्दै नेपाल आइपुगेका छन् । उनीहरू प्रायः सबै बच्चा कोरलेर हुर्काउन नेपाल आएका हुन् । चराहरू यहाँको वातावरणसँग अनुकूलित भइरहेका छन् । उनीहरू गुँड लगाएर सुरक्षित रूपमा बचेरा हुर्काउने ठाउँको खोजीमा रहेको चराविद् हठन चौधरीले बताए ।
‘यहाँ उनीहरूले खरपात, घुरपात सहजै पाउने ठाउँ हेरिरहेका छन्,’ उनले भने, ‘आहारविहारको राम्रो जोहो हुने लाग्यो भने गुँड लगाउन थाली हाल्छन् ।’ १ हजार ६ सय ८० माइल दूरी तय गर्दै थाइल्यान्ड आसपासबाट निलपुछ्रे मुरलीचरा पनि नवलपुरको कावासोतीस्थित सामुदायिक वनमा आइसकेका छन् ।
फागुनदेखि आउन सुरु गर्ने चरा अहिलेसम्म धेरै आइसकेका छन् । करिब ६० प्रजातिका चरा यहाँ आउँछन् । त्यसमध्ये ५७/५८ प्रजातिका भित्रिसकेको वरिष्ठ चराविद् डा. बरालले बताए । बचेरा कोरल्ने राम्रो वातावरण र मौसम हुने भएकाले यहाँ चरा आकर्षित हुन्छन् ।
कोइली प्रजातिको जुरे कोइली मात्र आउन बाँकी छ । यो सबैभन्दा ढिलो आउँछ । करिब ६ हजार माइल बढी आकाशीय दूरी तय गरी दक्षिण अफ्रिकाको सबसाहारन क्षेत्रबाट आउने जुरे कोइली अझै नआएको चराविद् डीबी चौधरीले बताए । प्रि मनसुन सुरु हुन लाग्दा मे अन्तिमसम्म अरेबियन सागरमा उठ्ने हावाको वहाबसँगै नेपाल आइपुग्ने उनले बताए ।
अफ्रिकाको सबसाहरन क्षेत्र आउने इथियोपिया, सोमालिया हुँदै यमन अरेबियन समुद्र हुँदै आउने मनसुन कलाउडसँगै आउने हावासँगै ठेलिएर आउँछ । सबैभन्दा पहिले मनसुन केरलामा आउँछ । त्यसपछि बंगालको खाडी हुँदै मनसुन पूर्वी नेपालबाट प्रवेश गर्छ ।
गाँजले सुनचरी, सुन्तले चाँचर र राजचरी चितवन राष्ट्रिय निकुञ्ज र लुम्बिनी वन क्षेत्रमा आइसकेका छन् । त्यस्तै चित्रक पिट्टा, गाजले पिट्टा, काफल पाक्यो र लालचुच्चे ठेउवा लगायतका चराले गुँड बनाउने ठाउँ खोजी गरिरहेका छन् । गृष्मकालीन पाहुना चरा आएर सबैभन्दा पहिले गुँड लगाउने ठाउँ, वातावरण र खाने लगायतका कुरा हेरेर बच्चा हुर्काउने स्थान रोज्छन् ।
चराले यहाँ वनका रुख, नदी खोलाका किनार र खेतवारीमा गुँड लगाउँछन् । वसन्त ऋतुसँगै भारत, श्रीलंका, दक्षिण–पूर्वी एसियाका थाइल्यान्ड, कम्बोडिया, लाओस, म्यानमार, मलेसिया र इन्डोनेसियासम्मबाट चरा यहाँ आई पुग्छन् । उनीहरू ४/५ दिनदेखि साता/दश दिन लगाएर महिनाअघिदेखि नेपाल आउन थालेका हुन् । बच्चा हुर्काएर फेरि जहाबाट आएका हुन्, उतैतिर फर्कन्छन् । म्यानमार र बंगलादेशको सीमा हुँदै बंगालको खाडीबाट धेरै चरा नेपाल भित्रिएका हुन् ।
यहाँ करिब ६० प्रजातिका चरा आउँछन् । त्यसमध्ये सेतोकण्ठे गौथली बाहेक अरु सबै बच्चा कोरल्नै आउने गर्छन् । सबैभन्दा पर अस्ट्रेलियाबाट आउने सेतोकण्ठे गौथली पनि आइसकेको छ ।
जंगलमा नयाँ पालुवा र प्रशस्त चराका चिरबिर सुरु भइसकेका छन् । चरालाई गुँड बनाउन ३ साताजस्तो लाग्छ । हिउँदमा उत्तरबाट नेपाल आएका चरा उतै फर्केपछि गृष्ममा दक्षिणबाट चरा आउने गर्छन् । नेपालमा पाइने १९ प्रजातिका कोइलीमध्ये १३ प्रजातिका कोइलीले अन्य गृष्म आगन्तुक चराका गुँडको चियोचर्चो गर्दै बसेका छन् । गुँड पछ्याउँछन् ।
गुँड राम्ररी बनेपछि भालेपोथीलाई जिस्काउँदै लखेट्दै परपरसम्म पुर्याउँछन् । त्यही बेला कोइली प्रजातिका पोथी गएर गुँडमा अण्डा पारेर आउँछन् । त्यपछि अन्य चराले आफ्ना बचेरासँगै कोइलीका बच्चा पनि हुर्काइदिन्छन् ।
कपिलवस्तुको तिलौराकोट साझेदारी वनमा देखिएको आगन्तुक सुन्तले चाचर ।
‘वैशाख दोस्रो या तेस्रो सातासम्म धेरै चराले गुँड लगाइसक्छन्,’ चराविद् डा. तुल्सी सुवेदीले भने, ‘साउन तेस्रो सातासम्म बचेरा हुर्काइसक्छन् ।’ बच्चा हुर्काउन सानाले कम र ठूलाले बढी समय लगाउने उनले बताए ।
विदेशमा अहिले दिन र रात बराबर हुने तर नेपालमा अहिले रातभन्दा दिन लामो हुने भएकाले आहारविहारका लागि प्रशस्त समय पाउने हुँदा चरा यता आकर्षित हुने उनले बताए । बच्चा कोरलेर हुर्काउन सुरक्षित ठाउँ रोजीरोजी पाउने हुँदा यहाँ आकर्षित हुने उनले सुनाए । चितवन, बर्दिया, शुक्लाफाँटा, पर्सा, शिवपुरी र बाँके राष्ट्रिय निकुञ्जमा चरा बच्चा कोरल्न आएका छन् । त्यस्तै कोशी टप्पु, मनोहरा र अन्नपूर्ण संरक्षण क्षेत्रमा पनि बच्चा कोरल्न चरा पुगेका छन् ।
नेपालमा आहाराका लागि प्रतिस्पर्धा छैन । उनीहरू जहाँबाट आउँछन्, त्यहाँभन्दा बच्चा कोरल्न र खाना खोज्न यहाँ सहज र सरल छ । अधिकांशले तराई, केहीले मध्य–पहाड र न्यून प्रजातिका चराले उच्च हिमाली भेगमा गुँड लगाउन पुगेका छन् । उनीहरू असोज र कार्तिकतिर उतै फर्कन्छन् । नेपालमा ८ सय ९८ प्रजातिका चरा पाइएको अभिलेख छ ।
