भैरहवा — रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा सोमबार तीन जना बालक डुबेर बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार, सोमबार दिउँसो एक बजेतिर लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलीका स्थानीय तीन जना बालक डुबेर बेपत्ता भएका हुन् ।
स्थानीय १३ वर्षीय उमेश यादव, १४ वर्षीय राजन यादव र १२ वर्षीय मन्नु हरिजन नामका बालक बेपत्ता भएका हुन् । स्थानीय अर्का १३ वर्षीय बालक बिजेश यादवले उनीहरु दानव नदीमा पौडी खेल्ने क्रममा डुबेर हराएको आफूले देखेको बताउँदै यस घटनाबारे स्थानीयलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी तथा प्रवक्ता सुरज कार्कीले घटनास्थल आसपासको क्षेत्रमा सुरक्षाकर्मीसहित स्थानीयको टोलीले उनीहरुको खोजी जारी राखेको बताए ।
कार्कीका अनुसार, घटना प्राप्त हुनासाथ रुपन्देहीको प्रहरी चौकी सुक्रौलीआमाबाट प्रहरी सहायक निरीक्षक कमल सुवेदीको नेतृत्वमा ३ जना, इलाका प्रहरी कार्यालय लुम्बिनीबाट प्रहरी निरीक्षक दिपक मगराठीको नेतृत्वमा ७ जना र सशस्त्र प्रहरी बल नेपाल बयरघाट सशस्त्र प्रहरी निरीक्षक रामकुमार घिमिरेको नेतृत्वमा १० जनाको टोली खटिएर खोजी जारी राखेको छ ।
