दानव नदीमा बेपत्तामध्ये एकको शव भेटियो, दुई बालक अझै बेपत्ता

वैशाख ८, २०८२

रासस

The body of one of the missing was found in Danava river, two children are still missing

रूपन्देही — रुपन्देहीको दानव नदीमा बेपत्ता तीन बालकमध्ये एकको शव भेटिएको छ भने दुई जना अझै बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले १४ वर्षीय राजन यादवको शव डुबेको स्थान नजिकै फेला परेको बताए ।

लुम्बिनी सांस्कृतिक नगरपालिका–२ सानो अर्दौलाका तीन बालक साथीसँगै गाउँ नजिकैको दानव खोलामा पौडी खेल्न गएका थिए । बगहा बाबा मन्दिर नजिकै नुहाउने क्रममा तीनै जना नदीको गहिरो भागमा पुगेको प्रत्यक्षदर्शी एक बालकले जानकारी दिएको वडाध्यक्ष ईनामुल्ला फकिरले जानकारी दिए । 

मृत अवस्थामा भेटिएका बालकको मूल घर त्यही भए पनि उनी बुबाआमासहित रूपन्देहीकै सैनामैना बस्थे । हाल विद्यालय बिदा रहेकाले उनी दुई दिनअघि मात्रै मूल घर आएका थिए । 

बेपत्ता बालकको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए । 

आज दिउँसो लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलामा रहेको दानव नदीमा पौडी खेल्ने क्रममा सोही वडामा बस्ने १३ वर्षीय उमेश यादव, १४ वर्षीय राजन यादव र १२ वर्षीय मन्नु हरिजन बेपत्ता भएका थिए । 

रासस

Link copied successfully