नियमित हवाइ उडानका लागि सिद्धार्थनगर नगरपालिकाले पहलकदमी गर्ने

वैशाख ८, २०८२

माधव ढुंगाना

Siddharthnagar municipality will take initiative for regular air flights

भैरहवा — गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलमा नियमित अन्तराष्ट्रिय उडान सञ्चालनका लागि सिद्धार्थनगर नगरपालिकाले नगरभित्रका विभिन्न सामाजिक संघ/संस्था, नागरिक समाज र राजनीतिक दलका प्रतिनिधिसहित सरोकारवाला निकायको अगुवाइ गर्दै पहलकदमी गर्ने भएको छ ।

सिद्धार्थनगर नगरपालिकाले सोमबार आफ्नै कार्यकक्षमा आयोजना गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन सम्बन्धी अन्तरक्रियामा सहभागीको राय सुझाव अनुरुप यसका लागि नगरपालिकाले अगुवाइ गर्ने भएको हो ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि सुरुमा प्रधामन्त्री र सम्बन्धित मन्त्रालयमा डेलिगेसन, छलफल गरिने र त्यसप्रति बेवास्ता गरिएमा विभिन्न खालका आन्दोलनसहित दबाबमूलक कार्यक्रम आयोजना गरिने निष्कर्ष उक्त अन्तरक्रिया कार्यक्रमले गरेको छ ।

‘यसका लागि नगरपालिकाले नगरका सबै संघ संस्था, राजनीतिक दल र नागरिक समाजका प्रतिनिधिलाई समेटेर आपसी समन्वयका साथ अघि बढ्ने छ,’ सिद्धार्थनगरका नगरप्रमुख इश्तियाक अहमद खानले भने, ‘गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि नगरपालिकाको अगुवाइमा आवश्यक परेमा सर्वसाधारणलाई असर नपर्ने खालको आन्दोलन तय गरी अघि बढिने छ ।’

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि विगतमा पनि आन्दोलन गरिएको तर ती आन्दोलनमा सबै निकायको एक्यबद्धता र समन्वयको अभावले सार्थक हुन नसकेकाले नगरपालिकाको अगुवाइमा दबाबमूलक कार्यक्रम सञ्चालन गरिनुपर्ने धारणा कार्यक्रममा सहभागीले गरेका थिए ।

काठमाडौं बाहिर अन्तर्राष्ट्रिय उडान सञ्चालन भएमा आफ्नो व्यवसाय ह्रास हुने भएकाले भैरहवा र पोखराको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन नदिन कुनै व्यवसायिक समूह सक्रिय रहेको र उक्त समूहले नै केही दलका नेता, सरकारका जिम्मेवार निकायलाई आफ्नो प्रभावमा पारेको दाबी कार्यक्रममा सहभागी अधिकांशले गरेका थिए ।

‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन हुन नदिने गिरोह काठमाडौंमा सक्रिय छ र यसकाविरुद्ध संयुक्त आन्दोलन अहिलेको आवश्यकता हो,’ स्थानीय व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य महेन्द्रकुमार श्रेष्ठले भने, ‘यसका लागि आवश्यक परेमा यस क्षेत्र र छिमेकी जिल्लाका सबै पालिका, राजनीतिक दल, सामाजिक संघ संस्था नगारिक समाजका प्रतिनिधिलाई समेटेर सिद्धार्थनगर नगरपालिकाले नेतृत्व लिन जरुरी छ ।’

सिद्धार्थनगरकी उपप्रमुख उमा अधिकारीले यसका लागि विगतमा गरिएका दबाबमूलक कार्यक्रम एकताबद्ध नहुँदा सार्थक नभएको बताउँदै स्थानीय सबै संघ संस्था र सरोकारवाला निकायको साथ पाएको यसको अगुवाइ गर्न सिद्धार्थनगर नगरपालिका तयार रहेको बताइन् ।

‘आन्तरिक उडानबाट भैरहवा आउने राजनीतिक दलका नेता र मन्त्रीहरुको आगमनलाई विमानस्थलमै रोकेर दबाबमूलक कार्यक्रमको थालनी गरौं,’ अधिकारीले भनिन्, ‘यस बारेमा आन्तरिक छलफल र सबै निकायको राय सुझावलाई समेटिने छ ।’

माधव ढुंगाना ढुंगाना कान्तिपुरका भैरहवा संवाददाता हुन् ।

Link copied successfully