जिप दुर्घटनामा एक जनाको मृत्यु, पाँच घाइते

वैशाख ७, २०८२

माधव अर्याल

One killed, five injured in jeep accident

पाल्पा — पाल्पाको बगनासकाली गाउँपालिका–४, खानीछापको मलेङ् बेलडाँडामा आइतबार बेलुकी भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पाँच यात्रु घाइते भएका छन् । 

तानसेनबाट चापपानी खहरेखोला हुँदै खानीछाप जाने क्रममा भएको दुर्घटनामा कालीगण्डकी गाउँपालिका–३ वैघाकी १७ वर्षीया एलिजा सारुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उकालो सडकमा जिप पछाडि हटेको र ब्रेकले नथामेर दुर्घटना भई सडकमै पल्टिँदा च्यापिएर सारुको मृत्यु भएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । 

तानसेनबाट खानीछाप भालेबासका लागि छुटेको लु १ ज १७२४ नम्बरको जिप दुर्घटनामा घाइते भएकामध्ये एक यात्रुको टाउकोमा गम्भीर चोट लागेको र अन्य घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइतेलाई तानसेनस्थित अस्पतालमा उपचारका लागि पठाइएको स्थानीयले बताए । तानसेनदेखि २४ किलोमिटर भित्री कच्ची सडकमा दुर्घटना भएको हो । नियमित आउने जाने बाटो ढलान कार्य भैरहेकोले वैकल्पिक सडक प्रयोग गरेको र घुम्ती नमिलेकोले दुर्घटना भएको अनुमान प्रहरीको छ । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully