तिलोत्तमा — नेपाल आक्रमण गर्न आएको अंग्रेज सेनालाई पराजित गरेको दिनको स्मरण गर्दै रूपन्देहीको ऐतिहासिक स्थल जितगढी किल्लामा विजयोत्सव मनाइएको छ ।
बुटवल उपमहानगरपालिकाले नेपाली सेनासँगको सहकार्यमा आइतबार विशेष कार्यक्रम गरी जितगढी विजयी उत्सव मनाएको हो । बुटवल उपमहानगरपालिकाले हरेक वर्ष जितगढी उत्सव मनाउँदै आएको छ ।
नेपाल–अंग्रेज युद्धका बेला बुटवलको जितगढीमा नेपाली फौजले अंग्रेज फौजलाई हराएको इतिहास छ । हार व्यहोरेपछि नेपाल कब्जा गर्न आएको अंग्रेज फौज पछि फर्किएको थियो । जितगढी किल्लामा गोरखाबाट पदयात्रा गर्दै आएको नेपाली सेनाको टोलीको उपस्थितिले विजयोत्सव भव्य बनेको छ । विभिन्न सांस्कृतिक र जातीय झाँकीसहित नेपाली गोरखादेखि बुटवल आइपुगेका पदयात्रीलाई जितगढी किल्लामा स्वागतसहित समारोह गरिएको हो । उत्सवको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । बुटवल उपमहानगरको प्रवर्द्धनमा आयोजित उत्सवमा विभिन्न कलाकारले देशभक्तिपूर्ण गीत तथा नृत्य प्रस्तुत गरेका थिए।
१८७२ वैशाख ७ मा अंग्रेज सेनामाथि नेपाली सेनाले विजय प्राप्त गरेको दिन पारेर उपमहानगरले विजयोत्सव मनाउँदै आएको छ। जितगढी किल्लालाई केन्द्रबिन्दु बनाएर तत्कालीन पाल्पा राज्यका कर्णेल उजिरसिंह थापा नेतृत्वको फौजले झन्डै ३ महिना अंग्रेजसँग लडेको र दुईपटक अंग्रेज सेनाले आक्रमण गर्दा पनि उसलाई पराजित गर्दै गोरखपुरसम्म लखेटेको दिनलाई यहाँ विजयोत्सवका रुपमा मनाउने गरिएको छ।
विजय उत्सवलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जितगढी किल्लालाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रदेश सरकारले पहल गर्ने बताए । मुख्यमन्त्री आचार्यले कर्णेल उजिरसिंह थापालाई राष्ट्रिय सपुतका रुपमा नामकरण गर्न संघीय सरकारसँग पहल गर्ने आश्वासन पनि दिए । ‘इतिहासप्रति गर्व गर्ने वातावरण निर्माण गर्न आवश्यक छ । राष्ट्रप्रति देखाइएको समर्पणको भावनालाई उच्च सम्मान गर्न जरुरी छ,’ उनले भने, ‘त्यो त्याग र समर्पणलाई कहिल्यै भुल्न सक्दैनौँ ।’
मुख्यमन्त्री आचार्यले अंग्रेज सेनालाई हराउन सफल भएको गौरवमय इतिहास सबैले बुझ्नुपर्ने बताए । आत्मविश्वासकै कारण नेपाली फौजले अंग्रेज फौजलाई पराजित गर्न सफल भएको उल्लेख गर्दै उनले भने, ‘उतिबेलाका योद्धाहरुले जोगाएको स्वाभिमानका कारण आज हामी यहाँ छौँ ।’
गोरखा दरबार हनुमान भन्ज्याङबाट सुरु भएको गोरखा–जितगढी पदयात्राको टोलीलाई बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले स्वागत गरेका थिए । पाण्डेयले कर्णेल उजिरसिंहलाई राष्ट्रिय विभूति घोषणा गर्न र जितगढीको विकासका लागि प्रदेश सरकारलाई पहल गर्न आग्रह गरे । उनले ऐतिहासिक दरबार, गढी, किल्ला र पदमार्गको संरक्षणका लागि पहल गरिरहेको बताए ।
गौरवमय इतिहास बोकेको जितगढी किल्लामा नेपाली सेनाले जितेको स्मरण गर्दै उत्सव मनाउने परम्परा कायम गरिएको हो । पछिल्लो तीन वर्षयता भने नेपाली सेनाले गोरखाबाट जितगढी आउने पुरानो बाटोबाट पैदलयात्रा थालेको छ । यो वर्ष ११ दिनमा सेनाको पैदलयात्री टोली यहाँ आइपुगेको हो । तनहुँ, स्याङ्जा, पाल्पा हुँदै आइतबार ऐतिहासिक जितगढी किल्लामा आइपुगेको हो ।
पदयात्रामा गोरखाको रिपुमर्दन गण, तनहुँको रुरु भैरवदल गण, काली भञ्जन गण, राजदल गण, दी फेमस महिन्द्रदल गण र रुपन्देहीको तारादल गण सहभागी थिए । कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद, पूर्व नगरप्रमुख, जिल्ला समन्वय समिति, जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।
