कुकुरलाई यातना दिएर हत्या गर्ने प्रहरी नियन्त्रणमा

वैशाख ७, २०८२

काशीराम डाँगी

Dog tortured and killed in police custody

रोल्पा — कुकुरलाई रुखमा झुन्ड्याएर निर्मम तरिकाले यातना दिई हत्या गर्ने कार्यमा संलग्न रोल्पाका ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार उक्त आरोपमा संलग्न रोल्पाको लुङ्ग्री गाउँपालिका-७ का २० वर्षीय सुन्दर परियार, १८ वर्षीय डम्बर पुन र ११ वर्षीय एक बालकलाई इलाका प्रहरी कार्यालय सुलीचौरले आइतबार बिहान लुंग्री गाउँपालिका-७ हार्जङबाट नियन्त्रणमा लिएको हो। 

प्रहरीले हार्जङको क्वाछिबाङमा कुकुरलाई रुखमा झुन्ड्याएर मारेको भिडियो सामाजिक संजालमार्फत सार्वजनिक भएपछि उनीहरूको खोजी गरेको थियो।

घटनाको अनुसन्धान गर्न लुंग्रीस्थित झिलाङनिले प्रहरी चौकी र इलाका प्रहरी कार्यालय सुलिचौरबाट प्रहरी परिचालन गरिएको रोल्पा प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक भरत लामाले बताए । अनुसन्धान गर्न ७ जनाको प्रहरी टोली खटिएको थियो। थप अनुसन्धान जारी राखिएको रोल्पा प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक रोहितकुमार शाहीले बताए ।

काशीराम डाँगी डाँगी कान्तिपुरका रोल्पा संवाददाता हुन् ।

Link copied successfully