निर्माण व्यवसायीको लापरबाहीले कर्णालीमा तटबन्ध अलपत्र

वैशाख ६, २०८२

कमल पन्थी

The embankment in Karnali is stuck due to the negligence of construction workers

बर्दिया — कर्णाली नदी नियन्त्रण व्यवस्थापन आयोजना, राजापुरअन्तर्गत राजापुर नगरपालिका–४ स्थित दलई घाट र गेरुवा गाउँपालिका–२ राजीपुरमा निर्माण व्यवसायीको लापरबाहीले वर्षौंदेखि तटबन्धको काम अलपत्र परेको छ ।

राजापुर नपाको दलईघाट कर्णाली नदीको सबैभन्दा बढी कटान र बाढीको जोखिम मानिन्छ । वर्षायाममा ठूलो बाढी आए यस क्षेत्रको मुक्त कमैया बस्ती, राजापुर बजार, संघर्ष नगरलगायत दर्जन बढी बस्ती डुवानमा पर्नेछन् । 

यसका साथै सत्तीघाटस्थित कर्णाली पुलको पश्चिमतर्फ कटान भइ आउजाउ ठप्प हुने आयोजनाका प्राविधिक बताउँछन् । २०७३ जेठ २० गते तटबन्धको काम सुरु गरी ०७४ जेठ २० गते सम्पन्न हुने गरी सिद्दी शाह, मैनचुली जेभिले ठेक्का लिएको थियो । उक्त जेभिले पाचौं पटक म्याद थप गरे पनि काम सम्पन्न गर्न नसक्दा आयोजनाले कालो सूचीमा राख्ने अन्तिम तयारी गरेको छ ।

आयोजना प्रमुख सुदिन मुक्तानले पटक–पटक ताकेदा गरे पनि ठेकेदार कम्पनी सम्पर्कमा नआएको बताए । पाँचौं पटकसम्म म्याद थप गरे पनि ठेकेदार कम्पनीले काम नगरेकाले बाध्य भई कालो सूचीमा राख्ने अन्तिम तयारी गरेको उनले जनाए ।

काम नगर्ने ठेकेदार कम्पनीप्रति स्थानीय आक्रोशित भएका छन् । राजापुर नपा–४ का वडाध्यक्ष विदुर पोखरेलले ठेकेदार कम्पनीको लापरबाहीले सिंगो पालिका बाढी र कटानको उच्च जोखिममा परेको बताए । राज्यले यसतर्फ ध्यान नदिए बाढी र कटानले तहस नहस बनाउने उनले सुनाए ।

दलईघाटमा दुई वर्षयता कटानले करिब २५ बिघा बढी जमिन बगाइसकेको स्थानीयले जनाए । ठेकेदार कम्पनी सम्पर्कमा नरहेको आयोजनाले जनाएको छ ।

कर्णाली नदीस्थित गेरुवा गाउँपालिका–२ राजीपुर बाढी र कटानको उच्च जोखिममा छ । तटबन्धका लागि दोस्रो पटक म्याद थप गरेका शनिदेव केडिएन सिंह जेभि कैलालीको लापरबाहीविरुद्ध स्थानीय आक्रोशित भएका छन् । स्थानीय बरघर कालीबहादुर थारुले गतवर्ष काम सम्पन्न गर्नुपर्ने ठेकेदार कम्पनीले यस वर्ष पनि काम नगरेको गुनासो पोखे । 

‘ठेकेदारले झारा टार्ने काम मात्र गरेको छ,’ उनले भने, ‘यहाँ ठेकेदार आए यही राखेर काम गराएपछि जान दिन्छौं ।’ करिब ६ सय मिटर तटबन्धका लागि ७ करोड ५६ लाखमा ठेक्का लिएको निर्माण व्यवसायीले २ करोड ९६ लाख भुक्तानी लिइसकेको आयोजनाले जनाएको छ । 

गेरुवा गापा–२ का वडा अध्यक्ष कृष्ण थारुले बर्सेनि वर्षायाममा बाढीले दर्जनौं बस्ती डुबानमा परेर विस्थापित हुने गरेको बताए । रोपाइँ गरेको धानसमेत डुबेर क्षति हुने गरेको गुनासो उनले पोखे । ठेकेदार कम्पनीसँग सम्पर्क राख्दा उनको मोबाइल स्वीच अफ हुने गरेको आयोजना प्रमुख मुक्तानले बताए । 

२०७१ साल असोज २९ गते स्थापना भएको कर्णाली आयोजनाले ५ वर्षभित्र ७१ किमी तटबन्ध निर्माण गर्नुपर्ने लक्ष्य राखेको थियो । ११ वर्षबितिसक्दा २५ प्रतिशत पनि तटबन्धको काम सम्पन्न हुन सकेको छैन । हालसम्म १५ किमी तटबन्धको काम मात्र सम्पन्न भएको आयोजनाले जनाएको छ ।

लक्ष्य अनुसार समयमा काम सम्पन्न हुननसक्नुको कारण वर्षेनी पर्याप्त बजेट निकासा नहुनु, कर्णाली नदीमा पानीको बहाव बढी हुनु, निर्माण सामग्री परीक्षणका लागि प्रयोगशाला नहुनु र ठेकेदार कम्पनीको लापरबाही रहेको आयोजनाले बताएको छ । 

आयोजनाको गुरुयोजना अनुसार तटबन्ध पूर्णरुपमा सम्पन्नको  लागि १२ अर्ब ८० करोड ७४ लाख रुपैयाँको डिपीआर स्वीकृत भएको थियो । हालसम्म १ अर्ब ५२ करोड ४० लाख बढी रकम तटबन्धमा खर्चिएको छ । 

करिब दुई दशकअघि कर्णालीले धार परिवर्तन गरेपछि पश्चिम क्षेत्रमा बाढी र कटानको जोखिम बढ्दै गएको छ । यसको रोकथाम गर्न आयोजनाको कार्यालय स्थापना भएको थियो ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully