गुल्मी — सदरमुकाम तम्घासमा शुक्रबारदेखि दोस्रो गुल्मी महोत्सव–२०८२ तथा कृषि, पर्यटन एवम् व्यापर मेला सुरु भएको छ ।
महोत्सव लुम्बिनी प्रदेशमा सांसद डिल्लीराज भुसालले उद्घाटन गरेका हुन् । ‘गुल्मी जिल्लाको समृद्धिको आधार : कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने नाराका साथ महोत्सव सञ्चालन गरिएको हो । मेलामा कृषि प्रदर्शनी, व्यापरिक समान, मनोरञ्जनात्मक खेल र सांस्कृतिक प्रस्तुति हुने गुल्मी चेम्बर अफ कमर्शका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले बताए ।
महोत्सवको उद्घाटन गर्दै लुम्बिनी प्रदेशमा सांसद डिल्लीराज भुसालले समग्र जिल्लाको आर्थिक अवस्थालाई चलायमान गराउन महोत्सवले टेवा पुर्याउने बताए । ‘मेला महोत्सवले कृषि, पर्यटन र व्यापारलाई राम्रो गराउँछ,’ उनले भने, ‘तीनै तहका सरकारले यसलाई साथ दिनुपर्दछ ।’
महोत्सवमा तीन सय स्टल स्थल छन् । महोत्सवमा ३० करोड रुपैयाँको आर्थिक कारोबार र साढे १ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा रहेको गुल्मी चेम्बर अफ कमर्शका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले बताए । महोत्सवमा टिकट शुल्क अन्तर्गत विद्यार्थीलाई ५० रुपैयाँ र अन्य व्यक्तिलाई १ सय रुपैयाँ लाग्नेछ । ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, ५ वर्षभन्दा कम उमेरका बालबालिका र अपांगता भएका व्यक्तिलाई निःशुल्क प्रवेश दिइनेछ । महोत्सव वैशाख १७ गतेसम्म जम्मा १३ दिन सञ्चालन हुनेछ ।
गुल्मी चेम्बर अफ कमर्शको आयोजना तथा जय माता दि एम्युजमेन्ट एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिको व्यवस्थापनमा सुरु भएको महोत्सवको उद्घाटन कार्यक्रममा स्थानीय झाँकी, महिला पञ्चेबाजा, भजन र सांस्कृतिक प्रस्तुति रहेको थियो ।
