आर्थिक अवस्था कमजोर भएको भन्दै परिवारद्वारा दुबईमा नै अन्त्येष्टि गर्न माग गरेका थिए
रोल्पा — वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा कार्यरत हुँदा मृत्यु भएका रोल्पाका एक जनाको नेपाली श्रमिकहरूको पहलमा दुबईमा नै शुक्रबार दाहसंस्कार गरिएको छ। त्यहाँको एक कम्पनीमा कार्यरत रोल्पाको गंगादेव गाउँपालिका-३ बडाढुंगा निवासी झनकबहादुर खत्रीको गत चैत २५ मा किटानुको संक्रमणले न्यून रक्तचाप हुने अवस्था (सेप्टिक शक) को कारणले मृत्यु भएको थियो।
दुबईस्थित रोल्पाली सेवा सामाजका अध्यक्ष दिल पुनका अनुसार पारिवारिक सहमति र मागबमोजिम खत्रीको दुबईमा नै अन्त्येष्टि गरिएको हो। उनले खत्रीको मृत्यु पछि सम्पूर्ण कागजात प्रक्रिया मिलाउन करिब २ साता समय लागेको बताए ।
करिब १० वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा पुगेका खत्री घर फर्केका थिएनन्। 'मृत्युको खबर पाएपछि परिवारले आर्थिक अवस्था कमजोर भएको र उतै अन्त्येष्टि गर्न माग गरेका थिए। त्यसै अनुसारको सिफारिसपत्र काठमाडौंस्थित कन्सुलर विभागमा पठाइएको थियो,' गंगादेव-३ का वडाध्यक्ष लोकमान वलीले भने। ५१ वर्षका मृतक खत्रीको शव नेपालस्थित घरमा नल्याई उतै अन्त्येष्टि गर्न उनकी श्रीमती रिसभी खत्री, छोराहरु भूपेन्द्र खत्री र प्रकाश केसी, छोरी सीता केसी र बुहारी रीता घर्ती केसीले मन्जुरीनामा दिएका थिए।
रोल्पाली सेवा समाजका दुबई शाखाका अध्यक्ष दिल पुनले खत्रीको अन्त्येष्टि गर्न रोल्पालीहरूले आर्थिक संकलन गरिएको बताए। समाजको पहलमा खत्रीको शवको अन्त्येष्टि दुबई नगरपालिकाद्वारा सञ्चालित जेवेल अली दुबई नामको विद्युतीय दाहसंस्कार गृहमा शुक्रबार दिउँसो ३:३० मा गरिएको हो। अबुधाबीस्थित नेपाली दूतावासका अनुसार सम्पूर्ण कागजात प्रक्रियापछि खत्रीको शव उनका छिमेकीसमेत रहेका रोल्पाली सेवा समाजका सल्लाहकार देवराज वलीले बुझिलिएका थिए।
यसैबीच संयुक्त अरब इमिरेट्स (यूएई) मा वैदेशिक रोजगारीको सिलसिलामा पुगेका र त्यहीँ हालसम्म मृत्यु भएका ९ जना नेपालीको यसरी नै नेपालीहरूले दाहसंस्कार गरेका छन्। समाजका अध्यक्ष पुनले अप्ठेरोमा परेका नेपाली श्रमिकका लागि संस्थाले महत्त्वपूर्ण काम गर्दै आएको बताए ।
यूएईमा जस्तै वैदेशिक रोजगारीको सिलसिलामा पुगेका नेपाली श्रमिकले अप्ठेरो अवस्थामा पनि काम गर्दा आएको र कतिपय दुःखद् अवस्थामा जोखिम बेहोर्नुपर्ने अवस्था रहेको तथा मृत्युसमेत हुने गरेको नेपालस्थित अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका केन्द्रीय अध्यक्ष डिलाराम वलीले बताए । उनले वैदेशिक रोजगारीका क्रममा विदेश पुगेका नेपाली श्रमिकको मृत्यु कम नभएको बताए ।
