नेपालगन्ज — बाँकेको कोहलपुर नगरपालिकाभित्रका गन्धर्व समुदायले संस्कृति प्रवर्द्धनका लागि सारंगी बजाउन सिकिरहेका छन् । तालिममा अधिकांश महिलाहरू सहभागी छन् । नेपालमा पहिलो पटक महिलाहरूले पनि सारंगी रेट्न सक्ने गरी तालिमले सक्षम बनाउने आशा गरिएको छ ।
महिलाहरू पनि सारंगी वादनका लागि इच्छुक रहेकाले तालिम प्रदान गरिएको हो । लोपोन्मुख गन्धर्व समुदायका लागि संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले ६ दिने सारंगी वादन तालिम कोहलपुर नगरपालिकाले आयोजना गरेको हो ।
कोहलपुर नगरपालिका सामाजिक विकास समितिका संयोजक ईश्वरीप्रसाद विश्वकर्माले गन्धर्व समुदायको संस्कृतिको प्रवर्द्धन गर्नु स्थानीय सरकारको दायित्व रहेको बताए ।
‘पछिल्लो समय गन्धर्व समुदायले समय अनुसार आफनो पेशालाई परिमार्जन गर्न आवश्यक छ, पहिलेको जसरी घरघरमा र सडक बजारमा मात्र नभई यसलाई व्यवसायिक रूपमा अघि बढाउनुपर्छ,’ उनले भने, ‘आर्थिक रूपमा विपन्न र सामाजिक रूपले पछाडी परेकाले अब आफ्नो कलाबाटै पहिचान बनाउन आवश्यक छ ।’
पछिल्लो पुस्तालाई आफ्नो कला, संस्कृति हस्तान्तरण गर्दै संरक्षण गर्न आवश्यक रहेको गन्धर्व विपन्न अल्पसंख्यक संस्कृति संरक्षण विकास संघ कोहलपुर–२ का अध्यक्ष सुशील कुमार बैगारले बताए । गन्धर्व समुदायको संस्कृति र सारंगी वादन तालिमले गन्धर्व समुदायलाई जीवन यापनमा थप राहत मिल्ने विश्वास लिएको उनले सुनाए ।
