रुकुम पूर्व — समयमै वर्षा नहुँदा यसपाली रुकुम पूर्वमा गहुँको उत्पादन कम भएको छ । हिउँदे बाली अन्तर्गत मुख्य बालीका रुपमा गहुँको उत्पादन घटेपछि यहाँ किसानहरु चिन्तित छन् ।
समयमै वर्षा नहुँदा गतवर्षभन्दा आधा भन्दा पनि कम उत्पादन भएको किसानको गुनासो छ । सिस्ने गाउँपालिका–३ पोखराका चंबहादुर खत्रीले अघिल्ला वर्ष २० पाथी गहुँ उत्पादन हुने जग्गाबाट यसवर्ष ५ पाथी पनि मुस्किलले भएको बताए ।
‘पुसतिर पानी परेको भए बाली सप्रिन्थ्यो । तर असोजपछि एकैचोटी फागुनमा पर्यो । जबकी त्यो बेलासम्म गहुँ सुकिसकेको थियो,’ उनले भने, ‘अलि–अलि लागेको बालाहरुमा पनि कुबेलामा परेको पानीले उल्टो असर पो गर्यो । अनि गहुँका गेडा त गन्ने जस्तो भरहेको छ ।’
सिँचाइ सुविधा नभएको र आकाशे पानीको भरमा खेती गरिरहेका पोखरा मात्रै होइन, उच्च पहाडी तथा हिमाली भेगमा यसवर्ष हिउँदे बालीको उत्पादन कम भएको हो ।
गहुँबाली भित्र्याउने बेला लगातार मौसममा आइरहेको बदलीका कारण आफूहरुलाई झन् मुस्किल परिरहेको पोखराकै अर्की किसान चम्पा खड्काले बताइन् । ‘गहुँ काटेर गेडा निकाल्ने बेला पानी परेको–पर्यै छ । भएको अलिअलि पनि भित्र राख्न देला जस्तो लागेन ।’
साथै यसबीचमा असिनापानीले पनि खेतिपातीमा असर परेको एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालय रुकुम पूर्वका प्रमुख डिल्लीराज पौडेलले बताए । उनका अनुसार रुकुम पूर्वमा ३२ सय १३ हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिन्छ । ‘यहाँको प्रमुख हिउँदे बालीका रुपमा गहुँसँगै तोरी र मसुरो पनि हो । समयमा वर्ष नहुँदा गहुँको उत्पादन त यस वर्ष कम नै हुने देखिएको छ । तर तोरी र मसुरोको उत्पादन भने ठिकै छ,’ उनले भने ।
यसवर्ष गहुँको उत्पादन कतिले कम भयो भन्नेबारे तथ्यांक संकलनको काम भइरहेको बताउँदै प्रमुख पौडेलले जिल्लामा खाद्यन्न अभाव भने हुनसक्ने बताए ।
