कालीगण्डकीमा निर्माणाधीन दुई मोटरेबल पुल आठ वर्षसम्म पूरा भएनन्

तीन वर्षमा सकिनुपर्ने पुल आठ वर्षमा ४५ प्रतिशत भौतिक प्रगति

वैशाख ३, २०८२

माधव अर्याल

Two motorable bridges under construction at Kaligandaki were not completed for eight years

पाल्पा — कालीगण्डकी नदीमा निर्माणाधीन दुई मोटरेबल पुल आठ वर्षसम्म पूरा भएका छैनन् । एउटै निर्माण व्यवसायीले दुई स्थानमा पुल निर्माणको ठेक्का लिएको थियो । बगनासकाली गाउँपालिका–६ यम्घा र स्याङ्जाको कालीगण्डकी गाउँपालिका जोड्ने कालीगण्डकी नदीमाथि बाँसटारीमा निर्माणाधीन पक्की पुलको काम वर्षौदेखि अलपत्र छ । 

बाँसटारीमा निर्माणाधीन मोटरेबल पुल निर्माणका लागि सपना–महादेव खिम्ती–दिवा जेभी निर्माण कम्पनीले पुल निर्माणको ठेक्का लिएको हो । सोही निर्माण कम्पनीले रामपुर नगरपालिका–१०, गेझा वर्दले र स्याङ्जाका चापाकोट नगरपालिका जोड्ने मोटरेबल पक्की पुलकोसमेत ठेक्का लिएर सम्पन्न गरेको छैन । पुल निर्माण कहिले सुरु भएको र सम्पन्न गर्नुपर्ने होर्डिङ बोर्डसमेत राखिएको छैन । निर्माण कम्पनीको प्रतिनिधिसमेत पुल निर्माणको साइटमा भेट्न नसकिएको अनुगमनमा पुगेका जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले बताए । 

यी दुवै पुल निर्माणका लागि पुल सेक्टर पोखरामार्फत ठेक्का भएको विभिन्न कार्यालयमा फोन गरेपछि मात्र पत्ता लागेको उनले बताए । ‘सांसद, प्रशासन, जिल्ला समन्वय, पालिकाबाट अनुगमनमा आउँदा होर्डिङ बोर्डसमेत देखिएन,’ उनले भने, ‘सम्बन्धित कार्यालय र सरोकारवालाको लापरबाहीले यस्तो भएको हो ।’ एउटै निर्माण कम्पनीले दुई स्थानमा पुल निर्माणको ठेक्का लिएको छ । तर उसले दुवै स्थानमा काम अलपत्र पारेको समन्वय प्रमुख खनालले बताए । 

Two motorable bridges under construction at Kaligandaki were not completed for eight years

बाँसटारीस्थित मोटरेबल पुल आठ वर्षदेखि अलपत्र छ । तीन वटा निर्माण व्यवसायीको जेभीले आधा काम पनि सकेको छैन । मुख्य ठेकेदारले पेटी ठेकेदारलाई निर्माणको काम जिम्मा दिने गरेको स्थानीयले बताए । मुख्य ठेकेदार सम्पर्कमा नआउने भएकाले पुल अलपत्र अवस्थामा हो । निर्माण कम्पनीको चरम लापरबाहीका कारण पुल निर्माण पूरा हुन नसकेको यम्घा–६ का स्थानीय धर्म न्यौपानेले बताए । ‘सात/आठ वर्ष हुन लाग्यो जहिले उस्तै छ,’ उनले भने, ‘वारिपारि पिल्लर राखेको छ । बीचमा पनि अहिले राखेको रहेछ । तर काम धेरै ढिलासुस्ती भएको छ ।’ निर्माण व्यवसायीले बाँसटारी र गेझा वर्दलेका दुवै पक्की पुलको २०७४ साल मंसिर २२ गते ठेक्का सम्झौता गरेको हो । 

Two motorable bridges under construction at Kaligandaki were not completed for eight years

निर्माण कम्पनीले ५ वर्षअघि नै २०७७ साल मंसिर २१ गते काम सक्नु पर्ने हो । तर निर्माण सम्पन्न गर्नुपर्ने म्याद सकिएको ५ वर्ष बित्न लाग्दासमेत बाँसटारीको ४५ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । वित्तीय प्रगति २८ प्रतिशत मात्र छ । यम्घा दर्पुकस्थित बाँसटारी पक्की पुलको ४५ प्रतिशत र वित्तीय प्रगति २८ प्रतिशत मात्र भएको छ । २५ करोड लागतको पुल चार स्पान रहेको छ । २ सय मिटर लामो पुल निर्माणका लागि ठेक्का भएको पुल सेक्टर पोखराले जनाएको छ । 

Two motorable bridges under construction at Kaligandaki were not completed for eight years

पुल अनुगमनका लागि प्रतिनिधिसभामा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्त्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिका सभापति ठाकुर गैरे, लुम्बिनी प्रदेशसभा सदस्य वीरबहादुर राना, जिल्ला समन्वय समितिका प्रमुख खनाल, प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठक लगायत जनप्रतिनिधिको टोली पुगेको थियो । ‘निर्माणस्थलमा कामदार पनि देखिएन,’ प्रतिनिधिसभा सदस्य तथा समितिका सभापति गैरेले भने, ‘वर्षौंअघि ठेक्का लागेको मोटरेबल पुलको अवस्था कन्तबिजोग नै लाग्यो ।’ कामलाई अघि बढाउन प्रमुख जिल्ला अधिकारीमार्फत पुल सेक्टर पोखरामा जानकारी गराएको र तत्काल यसका विषयमा जानकारी लिन निर्देशन दिएको उनले बताए ।

Two motorable bridges under construction at Kaligandaki were not completed for eight years 

त्यस्तै, रामपुर नगरपालिका–१०, गेझा वर्दले पुलको ७५ प्रतिशत भौतिक प्रगति भएको छ । यो पुलको ५८ प्रतिशत वित्तीय प्रगति भएको पुल सेक्टर पोखराका सूचना अअिधकारी इन्जिनियर मिलन श्रेष्ठले बताए । वर्दलेमा निर्माण भइरहेको २ सय २० मिटर लामो पुलमा तीन स्पान छ । यो पुल पनि सपना–महादेव खिम्ती–दिवा जेभी निर्माण कम्पनीले नै ठेक्का लिएको उनले बताए । यसको लागत २८ करोड रहेको छ । यसको पनि २०७७ मंसिर २१ मै निर्माण कार्य सक्नेगरी सम्झौता भएको हो । पटकपटक म्याद थप गरेर यही असार मसान्तमा सक्ने अन्तिम म्याद दिइएको कार्यालयले जनाएको छ । 

गेझा बर्दलेको पुलको कामलाई अहिले तीव्रता दिएको छ । तर बाँसटारीमा भने पिल्लर उठाएर राखेको छ । कालीगण्डकी नदीमा अहिले झोलुङ्गे पुल छ । त्यही पुलबाट मोटरसाइकल र पैदलयात्री आउजाउ गर्छन् । पटकपटक पुल सेक्टर पोखराका प्रमुखसँग सम्पर्क गरेको र अवस्थाका विषयमा जानकारी लिने गरेको पाल्पाका प्रमुख जिल्ला अधिकारी सुवेदीले बताए । ‘मैले पटकपटक फोन सम्पर्क गरेर पाल्पासँग जोडिने पुलको अवस्थाबारे जानकारी मागेको छु,’ उनले भने, ‘निर्माण व्यवसायीलाई बोलाएर के कारणले काम हुन नसकेको हो भन्ने जानकारी लिने र सबैसँग छलफल गरिनेछ ।’ 

उनले छिटो काम गर्न ताकेता गरेको बताए । निर्माण व्यवसायीलाई पटक पटक ताकेता गर्दै निर्माण कार्य अघि बढाउन निर्देशन दिएको पुल सेक्टर पोखराका प्रमुख ज्ञानेन्द्र प्रसाद कलौनेले बताए । निर्माण व्यवसायीले वित्तीय व्यवस्थापन र परिचालन गर्न नसक्दा समस्या भएको बताउँदै धेरै ठाउँमा ठेक्का लिने र काम अपुरो छाड्ने समस्या रहेको उनले बताए । ‘हामीले बजेट अभाव हुन दिएका छैनौं,’ उनले भने, ‘काम गर्ने निर्माण व्यवसायीलाई गतवर्षको दायित्व पनि तिरिसकेका छौं ।’ निर्माण व्यवसायीले रनिङ बिल अनुसार भुक्तानी पाउने भएकाले बजेटमा अभाव नै भयो भन्ने अवस्था नभएको उनले बताए । कार्यालयको कारण नभइ निर्माण व्यवसायी आफ्नै कारणले काममा ढिलाइ भएको प्रमुख कलौनेले बताए । 

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully