दाङ — तुलसीपुरमा बुधबार एक हुल मानिसहरू सडकमा निस्किए । अनि फटाफट सडकमै केरा रोप्न थाले । बजारबासीहरू अचम्म मानेर हेर्न थाले ।
सडक निर्माण थालेको तीन वर्षसम्म पनि कुनै प्रगति नभएपछि तुलसीपुर उपमहानगरपालिका-५, पिपलबोट र रानीजरुवाका बासिन्दाले रचनात्मक आन्दोलन गरेका हुन् ।
सडक प्रयोग गर्न लायक नभएकाले केरा रोपेर सांकेतिक विरोध गरेको संघर्ष समितिका संयोजक दिपक काफ्लेले बताए । साथै नेताहरूले देख्न सकिने विकास नगरेका कारण कालो पट्टी बाँधेर हिँड्नुका साथै एक घण्टा चक्काजाम गरेको उनले बताए ।
पिपलबोट-रानीजरूवा ८ सय मिटर सडक लुम्बिनी प्रदेश सरकारले तीन वर्षअघि निर्माण सुरु गरे पनि त्यसपछि निरन्तरता पाउन सकेको छैन । राजनीतिक दलका नेताहरू एकले अर्कोलाई दोषारोपण गर्दै पन्छिन थालेपछि आन्दोलन गर्न बाध्य भएको काफ्लेले बताए ।
