बहराइच,भारत — अवैध घुसपैठ रोक्न भारतले अनिवार्य परिचयपत्र लागू गरेपछि नेपालले पनि उक्त नियम लागू गदै सीमा क्षेत्रमा कडाइ गरेको छ । भारतबाट नेपाल प्रवेश गर्ने र बाहिरिनेलाई परिचयपत्रको आधारमा आउजाउ गर्ने नियम लागू गरिएको हो ।
अहिले यो नियम बढैयाताल गाउँपालिका–२ फुटाहा नाकामा लागू गरिएको छ । बर्दियाका सबै नाकामा यो नियम बुधबारदेखि लागु गरिने सशस्त्र प्रहरी उपरीक्षक मानबहादुर शाहीले बताए । भारतीय सीमा नाकामा केही महिना अघिदेखि परिचय पत्र अनिवार्य भएपछि बर्दिया प्रशासनले यो नियम लागू गरेको हो ।
भारतले आतंकवाद रोकथाम तथा घुसपैठ रोक्न यो नियम लागू गरेको बताउँदै एसएसबीका एक अधिकारीले दुवै मुलुकको सुरक्षा अधिकारीको सहकार्यबाट यस्ता अवैध गतिविधि नियन्त्रण हुने बताए ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले परिचयपत्र लागू भएपछि अवैध गतिविधि रोकिने र भारत हुँदै नेपाल आउजाउ गर्ने सबैमा परिचयपत्र देखाउनु पर्ने निर्देशन मातहातका सुरक्षा निकायलाई दिइसकेको बताइन् ।
प्रशासनले आफ्ना मातहातका सुरक्षा निकायलाई परिचपत्र हेरेर आउजाउ गर्न निर्देशन दिइसकेको छ । यो नियम लागु भएपछि तस्करी न्यूनीकरण हुने विश्वास नेपाली सुरक्षा अधिकारीको छ ।
