गुल्मी — गत पुस महिनादेखि गुल्मीमा सञ्चालनमा आएको साहसिक खेल जीपलाइनमा आकर्षण बढेको छ । जिल्लाको छत्रकोट गाउँपालिकाले जिल्लामै पहिलोपटक सञ्चालनमा ल्याएको जीपलाइनमा चैत मसान्तसम्म १ हजार २ सय २२ जनाले जीपलाइनको मजा लिएको छत्रकोट गाउँपालिकाका सूचना अधिकारी हरि टण्डनले जानकारी दिए ।
चार महिनाको समयावधिमा उक्त संख्याबाट कुल ५ लाख १ हजार ८ सय ५० रुपैयाँ आम्दानी भएको छ । त्यसबाहेक नयाँ वर्षको अवसरमा सोमबार र मंगबार मात्रै ६० जनाले जीपलाइन खेलेका छन्, जसबाट २५ हजार २ सय रुपैयाँ आम्दानी भएको छ ।
आन्तरिक तथा बाह्य धार्मिक पर्यटकीय गन्तव्य बनाउने भन्दै छत्रकोट गाउँपालिकाले छत्रकोट देवालय मन्दिरदेखि देवी भगवती मन्दिरसम्म जीपलाइन निर्माण गरेको हो । गाउँपालिकाको वडा नम्बर ३ मा सञ्चालनमा आएको उक्त जीपलाइन १ हजार ८० मिटर लम्बाइको रहेको छ । साथै ६७ मिटर उचाइ छ । जिपलाइनमा औसत १५ देखि २० मिटर प्रतिसेकेन्डमा तौल अनुसारको गति रहेको छ । सुरु स्टेसनदेखि ल्याडिन्ङ हुने स्टेसनसम्म पुग्न न्यूनतम ५५ देखि अधिकतम ७७ सेकेन्ड समय लाग्ने गर्छ ।
जिपलाइन ८६ लाख ७३ हजार ४ रुपैयाँ लागतमा सानु सेतीदेवी कन्ट्रक्सन प्रालिले निर्माण गरेको हो । जीपलाइन लुम्बिनी प्रदेश सरकार र छत्रकोट गाउँपालिकाको बजेटमा बनेको गाउँपालिकाले जनाएको छ ।
छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले पालिकाले पर्यटन प्रवर्द्धन गर्न पालिकाभित्र संरचना निर्माणसँगै धार्मिक, सांस्कृतिक र पुरातात्त्विक महत्त्वका धार्मिक तथा पर्यटकीय स्थलको संरक्षण, संवर्द्धन र प्रचारप्रसार गरेर आन्तरिक पर्यटनलाई थप प्रभावकारी बनाउन लागेको बताए । ‘पर्यटन प्रवर्द्धनकै लागि साहसिक खेल जीपलाइन बनाएका हौं,’ उनले भने, ‘तत्काल राम्रै प्रभाव छ, अझै प्रभावकारी बनाउने सोच छ ।’ उनले ‘रुरु रेसुङ्गाको धार्मिक आश : छत्रकोटमा बसौं बास’ भन्ने नीति नै बनाएर पर्यटकीय गन्तव्य निर्माण कार्यलाई तीव्रता दिएको बताए ।
साहसिक खेल जीपलाइन खेल्न गाउँपालिकाबासीका लागि ४ सय, विद्यार्थीहरूका लागि ३ सय, पालिकाबाहिरका नागरिकका लागि ५ सय र विदेशी नागरिकका लागि १ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
