नेपाली सेनाको गोरखा–जितगढी पदयात्रीलाई पाल्पामा स्वागत

वैशाख २, २०८२

माधव अर्याल

Welcome to Palpa for the Gorkha-Jitgarhi hikers of the Nepali Army

पाल्पा — नेपाली सेनाको गोरखा दरबार हनुमान भन्ज्याङबाट सुरु भएको गोरखा–जितगढी पदयात्राको टोली मंगलबार पाल्पा आइपुगेको छ ।

पदयात्रामा निस्केको टोलीलाई पाल्पा र स्याङ्जाको सिमाना केलादीघाटमा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापा, प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी लगायतले स्वागत गरेका छन् ।

बाजागाजा र परम्परागत पोसाक लगाएका गुरुज्यूको पल्टनसहितको टोली राष्ट्रिय तथा विभिन्न पृथ्वीनारायण शाहकालीन सेनाका कम्पनीको झण्डा बोकेर गोरखादरबारबाट गत २८ चैतमा सुरु भएको हो ।

ऐतिहासिक दरबार, गढी, किल्ला र पदमार्गको संरक्षण अभियान अन्तर्गत नेपाली सेनाले स्थानीय तहहरुसँगको सहकार्यमा गोरखादरबारदेखि जितगढीसम्मको यो पदयात्रा तेस्रो पटक आयोजना गरेको हो । गोरखाबाट हिडेको टोली तनहुँ, स्याङ्जा, पाल्पा हुँदै वैशाख ७ गते ऐतिहासिक जितगढी किल्लामा पुग्नेछ । 

Welcome to Palpa for the Gorkha-Jitgarhi hikers of the Nepali Army

पाल्पामा रामपुर नगरपालिकाको देवीस्थान, दर्छाको सीताकुण्ड, बेलडाँडा, सिलुवा, जव्गादी, बीरकोटमा बास बस्नेछ । त्यस्तै, पूर्वखोलाको बाकुमगढी, हुमीन, देविनगर, झडेवा, जगत, गोठादी हुँदै माथागढीको यात्रा गर्नेछ । गोठादीबाट झडेवा, मर्मरा, सिकारकोट, सराई माडी दमकडा हुँदै बाँसटारी प्रभासको पदयात्रा गर्नेछ । लामडाँडाबाट तानसेन र पुनः प्रभास पुगेर बास बस्नेछ । प्रभासदेखि डुम्रे, मस्याम, मरेक हुँदै दोभानसम्म पुग्ने कार्यक्रम छ । दोभानदेखि नुवाकोटगढी हुँदै बुटवलको तारादल गणलाई झण्डा हस्तान्तरण गरी जितगढी विजयोत्सवमा सहभागी हुने कार्यक्रम रहेको नेपाली सेनाको दि फेमश महिन्द्र दल गणका गणपति भुपेन्द गुरुङले बताए । 

Welcome to Palpa for the Gorkha-Jitgarhi hikers of the Nepali Army

राष्ट्रिय झण्डासहित एकीकरणमा स्थापित श्रीनाथ, कालीबक्स, बर्दवाणी, सबुज, पुरानो गोरख र जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्म सहभागी छन् । पदयात्रामा गोरखाको रिपुमर्दन गण, तनहुँको रूरू भैरवदल गण, काली भञ्जन गण, राजदल गण, दि फेमस महिन्द्रदल गण र रुपन्देहीको तारादल गण सहभागी हुनेछन् । जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुख, जिल्ला समन्वय समिति, रामपुर नगरपालिका, निस्दी, पूर्वखोला, रम्भा, माथागढी गाउँपालिका, तानसेन नगरपालिका र तिनाउ गाउँपालिकाले सघाएका छन् ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully