गाउँमै श्रम गरेर ‘लेबी’ तिर्छन् वली

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य ५७ वर्षीय चूडामणि वली पार्टीलाई मासिक एक हजार शुल्क बुझाउँछन्, उक्त रकम उनले श्रम गरेरै जुगाड गरिरहेका छन्

वैशाख २, २०८२

काशीराम डाँगी

Wali pays 'Lebi' by laboring in the village

राेल्पा — अग्लो जिउडाल, सेतै फुलेको कपाल र आँखामा चस्मा लगाएका ५७ वर्षीय चूडामणि वली अहिले पश्चिमी रोल्पा र सल्यानको सिमानामा पर्ने सडक निर्माणको काममा व्यस्त छन् । ‘अढाई महिनादेखि यहीँ खटिएको छु,’ उनले भने, ‘सडक चौडा बनाउने, नाला बनाउने, ढलान गर्ने र ढुंगा ओसार्ने काम गरिरहेको छु ।’

पश्चिम रोल्पाको सुकीदह अर्थात् गंगादेव गाउँपाकिा–३ जिनाबाङ निवासी उनी नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य हुन् । पार्टीले श्रम गर्ने नीति अघि सारेपछि उनी कपिलवस्तुस्थित पार्टीको केन्द्रीय कार्यालयबाट बिदा लिई श्रम गर्न सडक खन्ने काममा संलग्न हुन यहाँ आएका हुन् । ‘श्रम गरेपछि आत्मनिर्भर हुन सकिन्छ । म श्रम गरेर आर्थिक उपार्जन र पारिवारिक समस्या समाधान गर्न सडक खन्ने काम खोज्दै यहाँ आइपुगेको हुँ,’ उनी भन्छन्, ‘यस क्रममा म गाउँघरमै गर्न सक्ने काम खोज्दै यहाँ आएको छु । सडक निर्माणको काम गरेरै आर्थिक उपार्जन गर्दै छु । यो श्रमको मेरो कमाइ हो ।’ 

सल्यानको कपुरकोटदेखि रोल्पाको झ्याम–बुरासे–पातिहाल्ना हुँदै सल्यानको बाफुखोला पुग्ने सडक निर्माणमा अहिले आफूले काम पाएको उनले बताए । सरकारले टेन्डर गरेको करिब १ करोड बजेटको उक्त सडक सल्यानका युवाहरूले ४७ लाख रुपैयाँमा निर्माण गर्ने ठेक्का पाएका थिए । त्यसै सडकको काममा नियमित रूपमा श्रम गर्न पाउँदा घरखर्च र पार्टीलाई बुझाउने लेबी रकम जुटिरहेको उनको भनाइ छ ।

सल्यानका युवाहरूले ठेक्कामा लिएको सडक योजनामा उनी पनि काम गर्न सहभागी भएका हुन् । ‘पार्टी हेडक्वार्टरबाट काम खोज्दै यहाँ आइपुग्नुभएका उहाँले अन्ततः सडकमा श्रम गर्ने काम पाउनुभयो । उमेर ढल्के पनि युवासरह उहाँ काममा खटिनुभएको छ,’ जिनाबाङस्थित उनका छिमेकी शिक्षक प्रेमबहादुर वलीले भने, ‘कुनै दिन पनि बिदा नलिई नियमित सडक निर्माणमा धुलाम्य भएर श्रम गरिरहनु भएको छ । उहाँको काम गर्ने जाँगर देख्दा लोभ लाग्छ ।’ 

चूडामणिले यसरी काम गरेबापत दैनिक ६ सयदेखि १ हजारसम्म ज्याला पाइरहेका छन् । सडक निर्माणमा श्रम गर्दा दैनिक कमाइ हुने भएपछि उनी खुसी पनि छन् । लामो समय राजनीतिमा लागेकाले आम्दानीको स्रोत नभएपछि श्रम गर्न सरिक भएको उनले सुनाए । आफू राजनीतिमा लागिरहे पनि श्रीमती लेखापढी व्यवसायमा संलग्न भएर काम गर्दै बच्चाबच्ची हुर्काउन र खानपिन सामग्री जुटाउन सक्रिय रहेको उनी बताउँछन् । 

यहाँ सडक निर्माणको काममा लागेका थुप्रै युवा भए पनि उमेर ढल्नेको भने उनी मात्रै छन् । ‘श्रम गर्नेमध्ये कपाल फुलेको वा ज्येष्ठ उमेरको म मात्रै छु । अझ, नेता वा पार्टीको पोलिटब्युरो सदस्य भने म एक्लै हुँ,’ उनले भने, ‘काम गर्ने स्थानीयमा माओवादीका कार्यकर्ता र नेताहरू भने प्रशस्त छन् ।’ Wali pays 'Lebi' by laboring in the village

करिब ७ सय मिटर लामो लेकको सडक निर्माण गर्ने काम छ । सडक तयार पार्न साढे तीन सय घनमिटर ग्याबिन र जाली लगाउनुपर्नेछ भने ६ सय घनमिटर माटोको कटिङ गर्ने काम छ । त्यसो गर्दा दैनिक खुबै श्रम गर्नुपरेको उनको अनुभव छ । 

बढ्दो उमेरमा यसरी श्रम गर्न दुर्गम गाउँमा खटिएको उनको परिवारका सदस्य र पार्टी नेतृत्वलाई समेत जानकारी छ । ‘म केन्द्रीय कार्यालयबाट बिदा मिलाएर श्रम गर्नकै लागि सडक निर्माणमा खटिएको हुँ । एकातिर पार्टीले सबै नेता–कार्यकर्ताले श्रम गर्ने नीति ल्याएको र अर्कातिर यसरी श्रम गर्दा आर्थिक उपार्जनसमेत हुने भएकाले श्रममा जोडिएको हुँ,’ उनले भने । श्रममा जोडिएको प्रति पार्टीका महासचिव नेत्रविक्रम चन्दले धन्यवादसहित हौसला दिएको पनि उनले सुनाए । 

‘मेरो काम देखेर महासचिव खुसी हुनुभएको छ । उहाँ आफैंले पनि काम गर्नुहुन्छ,’ वलीले थपे, ‘हामी सबैले श्रमप्रति प्रेम गर्ने र श्रम गर्न उत्साहित हुने वातावरण निर्माण गरेका छौं ।’ सरल स्वभावका उनी हँसिला र सहयोगी पनि उत्तिकै छन् ।

यसरी श्रम गर्दा हीनताबोध नहुने उनको धारणा छ । कुनै पनि काम गर्दा वा श्रम गर्दा लाज मान्नुपर्ने र अप्ठ्यारो मान्नुपर्ने कुनै कारण नभएको उनी बताउँछन् । अझ आफैं जन्मेको गाउँघरकै सडक निर्माण गर्न पाउनु सुखद भएको उनको अनुभव छ ।

श्रम गरेकाले आफूले पार्टीलाई बुझाउनुपर्ने मासिक लेबी तिर्न सजिलो भएको पनि उनले सुनाए । ‘पोलिटब्युरो सदस्यले मासिक एक हजार रुपैयाँ शुल्क बुझाउनुपर्ने नियम छ,’ उनले भने, ‘मोटरसाइकलमा लाग्ने इन्धन, खान–बस्न लाग्ने खर्च र परिवारका लागि चाहिने थोरै भए पनि घरखर्च श्रम गरेरै जुटाइरहेको छु ।’ 

२०४५ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएको बताउने उनी धेरैपटक जेल परिसकेका छन् । रोल्पामा ३४ महिना, बाजुरामा २२ महिना र दाङ एवं सुनसरीमा गरी ८१ दिन जेलमा बसिसकेको उनले सुनाए । विद्यार्थी छँदै राजनीतिमा लागेकाले घर–परिवार र आफन्तलाई समय र सहयोग गर्न नसकेको उनको अनुभव छ । वृद्ध आमाबुवाका साथमा लामो समय बस्न र सेवा गर्न नपाएका उनले पार्टी कामका लागि भने निकै समय खर्चेका छन् ।

बिरामी आमाको उपचारका क्रममा अघिल्लो वर्ष मृत्यु भयो भने बिरामी बुवालाई राजधानीमै राखेर परिवारका सदस्यले उपचार गर्दै आएका छन् । २०४२ सालमा गाउँकै विद्यालय वीरेन्द्र मावि नाउलीमा पढ्दा तत्कालीन मशालको विद्यार्थी संगठनमा आबद्ध भएका वली २०४५ पछि भने पार्टीमा लागे । २०५२ फागुन १ देखि भूमिगत हुने नेकपा माओवादीको निर्णय कार्यान्वय गर्न उनी पनि भूमिगत भए । 

२०४६ सालको जनआन्दोलनमा समेत गिरफ्तारीमा परेका उनी लामो समय भूमिगत हुने नेतामा पर्छन् । तत्कालीन १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा रोल्पा जिल्ला लगायत अन्य जिल्लाको सेक्रेटरी रहेका उनी शान्ति प्रक्रियापछि पनि धेरै पटक जेल र गिरफ्तारीमा परे ।

सशस्त्र द्वन्द्वको अवधिमा पार्टीका साथै लडाकु दस्ताको राजनीतिक कमिसारका रूपमा भूमिका निर्वाह गरेका उनले स्नातक तहसम्मको अध्ययन गरेका छन् । २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा गंगादेव गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार भएका बेला थोरै मतले उनी पराजित भएका थिए ।

काशीराम डाँगी डाँगी कान्तिपुरका रोल्पा संवाददाता हुन् ।

Link copied successfully