गुल्मी — रेसुंगाको प्रतीक तम्घास बजारमै बनाइएको छ । जिल्ला सदरमुकाम तम्घासस्थित लाकुरीमञ्चमा धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थल रेसुंगाको प्रतीक बनाइएको हो ।
प्रतीकहरूमा तम्घासबाट देखिने रेसुंगा क्षेत्र, रेसुंगा यज्ञशाला, शृङ्गे ऋषि, रामले वाण हानेर पानी निकालेको, हनुमान, मृग र चितुवा लगायतका भित्तेचित्र प्रतीकका रूपमा बनिसेका छन् ।
अहिले रेसुंगा क्षेत्रमा मान्यता रहिआएको गरुडले राक्षससँग लडेर समुन्द्र मन्थन गरी त्यस क्षेत्रमा ल्याएर अमृत खसालेको दृश्य निर्माण भइरहेको निर्माणको जिम्मा पाएका बिके आर्ट ग्यालरीका सञ्चालक नरबहादुर विकले जानकारी दिए । उनीसहित दुई जना यस सम्बन्धीका दक्ष चित्रकारबाट हाल कलात्मक भित्तेचित्रको काम भइरहेको छ ।
रेसुंगा नगरपालिकाले भित्तेचित्र निर्माणका लागि प्रति स्क्वायर फिट ३ सय ७५ रुपैयाँमा बिके आर्ट ग्यालरीलाई जिम्मा दिइएको छ । समग्रमा नगरपालिकाले १ हजार ६ सय स्क्वायर फिट क्षेत्रमा भित्तेचित्रको काम गर्न लागेको नगरपालिकाका इन्जिनियर कृष्ण कोइरालाले जानकारी दिए ।
हाल जिल्ला प्रशासन कार्यालय अगाडि भित्तेचित्र निर्माण भइरहेका छन् । अब लगत्तै नेपाल टेलिकम अगाडि र रेसुंगा नगरपालिका अगाडि भित्तेचित्र निर्माणका काम हुने रेसुंगा नगरपालिका प्रमुख खिलध्वज पन्थीले बताए । ‘पर्यटन प्रवर्द्धनका लागि हामीले यो सोच बनाएका हौँ,’ उनले भने, ‘जाऊँ हिँड रेसुंगा अभियानलाई साथ दिन तम्घास बजारमै रेसुंगाको प्रतीक बनाएका छौँ ।’ रेसुंगा नगरपालिकाले रेसुंगामा पर्यटक भित्र्याउनका लागि गत वर्षदेखि ‘जाऊँ हिँड रेसुंगा’ अभियान सञ्चालन गरेको छ ।
हालै कोरियामा समेत पुगेर भित्तेचित्रको काम गरेर आएका चित्रकार नरबहादुर विकले काठमाडौँसहितका मुख्य सहर, तिलोत्तमा, रामग्राम र रेसुंगा नगरपालिकामा यो काम गरेका छन् ।
