बर्दिया — नयाँ वर्ष मनाउन एकै दिन करिब एक हजार आन्तरिक पर्यटक बर्दिया राष्ट्रिय निकुञ्ज ठाकुरद्वारा प्रवेश गरेका छन् । गत वर्षको तुलनामा यो बढी संख्या हो । सोमबार निकुञ्ज अवलोकन गर्नेको संख्या उल्लेखनीय देखियो । गत नयाँ वर्षका दिन करिब ७ सय पर्यटक निकुञ्ज अवलोकन गर्न आएका थिए ।
निकुञ्ज मुख्यालय हाताको खोरमा रहेको समस्याग्रस्त बाघ हेरेर पर्यटकले खुसी साटासाट गरे । गुलरिया नगरपालिका–१ का हरि अधिकारीले बर्दिया निकुञ्जमा पहिलोपटक बाघ हेरेको बताए । परिवारसहित आएका अधिकारीले बाघ हेर्न पाउँदा नयाँ वर्ष निकै रमाइलो रहेको सुनाए ।
पर्यटक जिप सफारी गर्ने चाहना भए पनि अपुग भएका कारण निकुञ्ज अवलोकन गर्न नपाएको कतिपयको गुनासो थियो । केही पर्यटकले कुरेर भए पनि सफारीबाटै अवलोकन गरेको सुर्खेत छिन्चुका पर्यटक किरण वलीले बताए ।
यहाँ ३० भन्दा पर्यटकीय होटलमा करिब ३२ वटा निकुञ्ज घुम्ने सफारी छन् ।
नयाँ वर्ष आगमनसँगै आन्तरिक पर्यटक बढेपछि पर्यटन व्यवसायीमा हौसला देखिन्छ । सोमबार मात्रै हजारभन्दा बढी पर्यटक नयाँ वर्ष मनाउन पर्यटक निकुञ्ज भित्रिएको संरक्षण अधिकृत सूर्य पौडेलले बताए । निकुञ्जको प्रवेशद्वारमा खुट्टा राख्ने ठाउँ छैन,' उनले भने, 'यो निकै खुसीको कुरा हो ।'
नयाँ वर्ष मनाउने मात्रै उद्देश्य नभई बाघ सहजै हेर्न पाइने भएकाले पनि पर्यटकको गन्तव्य बर्दिया निकुञ्ज बन्दै गएको छ । नयाँ वर्षका दिन यहाँ आएका अधिकांश आन्तरिक र विदेशी पर्यटकले बाघ हेरेर फर्केको पर्यटकले बताए ।
निकुञ्जका संरक्षण अधिकृत पौडेलले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म १७ हजार ६ सय १८ पर्यटक भित्रिएको बताए । तीमध्ये नेपाली १२ हजार ३ सय ८५, विदेशी ४ हजार ३ सय ८७ र सार्क मुलुकबाट ८ सय ४६ जना पर्यटकले निकुञ्जको भ्रमण गरेको निकुञ्जले जनाएको छ ।
९ सय ६८ वर्ग किमि ओगटेको निकुञ्जमा बाघ, गैंडा, हात्ती लगायतका जनावर सहजै हेर्न पाउँदा स्वदेशी र विदेशी पर्यटकको संख्या बढ्दै गएको हो । निकुञ्जका अनुसार १ सय २५ वटा बाघ, ३८ वटा गैंडा र १ सय २० बढी हात्ती रहेका छन् ।
