प्युठान — नयाँ वर्षको अवसर पारेर प्युठानको सदरमुकाम खलंगाको शिर मल्लरानीमा यसपालि पनि खाना महोत्सव सञ्चालन भएको छ । तीन वर्षदेखि नयाँ वर्षको अवसर पारेर मल्लरानीमा खाना महोत्सव हुने गरेको छ । यसपालि आइतबारदेखि खाना महोत्सव सुरु भएको हो ।
रैथाने खानाको प्रवर्द्धन तथा पर्यटकीय क्षेत्र मल्लरानीको प्रचारप्रसार गर्ने उद्देश्यले हरेक नयाँ वर्षका अवसरमा मल्लरानीमा खाना महोत्सव हुने गरेको छ ।
नेवार समुदायको बाहुल्य रहेको प्युठान सदरमुकाम खलंगा र आसपासका अन्य समुदायको सक्रियतामा पर्यटकीय स्थल मल्लरानीमा खाना महोत्सव आयोजना गरिएको तेस्रो मल्लरानी खाना महोत्सवका संयोजक भरतकुमार श्रेष्ठले बताए ।
प्युठान उद्योग वाणिज्य संघ मल्लरानी बजार इलाकाको आयोजनामा महोत्सव सञ्चलन हुँदै आएको छ । यो वर्ष तीन दिनसम्म मेलाको आयोजना हुनेछ । ‘खाना महोत्सवमा प्रमुख आकर्षण यहाँका रैथाने खाना नै हुन्,’ श्रेष्ठले भने, ‘नेवारी, मगर, गुरुङलगायत जातिका खानाका स्टल खाना महोत्सवमा राखिएको छ ।’ महोत्सवले एक-अर्का समुदायका मानिसलाई परिकारका बारेमा परिचित बनाउन महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।
महोत्सवमा सराय नााच, मारुनी नाच, पन्चेबाजा, भैलो नाचसमेत देखाइएको छ । खाना महोत्सवमा नेवारी खाना, लोकल कुखुरा र ढिँडो लगायतका परिकार तथा स्थानीय चाडपर्व विशेषमा बनाइने परिकार राखिएको होटल व्यवसायी संघ मल्लरानी बजार इलाकाका अध्यक्ष जगन्नाथ श्रेष्ठले बताए ।
१६५५ मिटर उचाइमा रहेको मल्लरानी पुगेपछि गर्मीमा पनि शीतल प्राप्त हुने आन्तरिक पर्यटक बताउँछन् । चिसो मौसममा खाना महोत्सवले छुट्टै रौनक थपेको खाना महोत्सवमा उपस्थित भएका बिजुवारका टंक थापाले बताए । यहाँबाट झिमरुक उपत्यकाको अवलोकन गर्न सकिन्छ । धौलागिरि, माछापुच्छ्रे हिमशृंखलाको पनि अवलोकन गर्न सकिन्छ ।
नयाँ वर्षको अवसरमा मल्लरानीमा हरेक वर्ष १० हजार आन्तरिक पर्यटक घुम्न जाने अनुमान गरिएको छ ।
