पाल्पामा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते 

वैशाख १, २०८२

माधव अर्याल

Motorcycle accident in Palpa: One dead, one injured

पाल्पा — सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको बगनासकाली गाउँपालिका–१, चिर्तुङ्धारा राइडाँडामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । 

चिर्तुङ्धाराको घोरबन्दादेखि बर्तुङतर्फ जाँदै गरेको लु ६१ प ७६३६ नम्बरको मोटरसाइकल दुर्घटनामा परी तानसेन नगरपालिका–६, का ४१ वर्षीय पदमबहादुर दर्लामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । मोटरसाइकल चालक दर्लामीको छोरा १८ वर्षीय सन्दीप दर्लामी घाइते भएका छन् ।

दुर्घटनामा चालक दर्लामी गम्भीर घाइते भएको र उपचारका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए । 

सन्दीपको मिसन अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । उकालोमा अचानक मोटरसाइकल पछाडि हटेर पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाका विषयमा जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी बर्तुङले थप अनुसन्धान गरेको छ । 

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully