गुल्मी — गुल्मीमा १५ वर्षीय किशोरको खोलामा डुबेर मृत्यु भएको छ । धुर्कोट गाउँपालिका-६ का राजेश कुमालको स्थानीय सिस्तुङ फाँट छेउको छल्दी खोलामा पौडी खेल्ने क्रममा डुबेर सोमबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।
राजु कुमालका छोरा राजेश तीन बहिनीसँग पौडी खेल्नका लागि खोलामा गएका थिए । घटनापछि बहिनीहरू मात्रै दाजुको कपडा हातमा लिएर घर पुगेपछि घटनाबारे थाहा भएको हो । शंका लागेर परिवार र छिमेकी खोलामा पुग्दा मृत्यु भइसकेको अवस्थामा राजेशको शव फेला परेको थियो ।
वडासदस्य शालिकराम अर्यालका अनुसार राजेश कक्षा ६ मा पढ्थे । प्रहरी टोलीले घटनास्थलको मुचुल्का उठाएपछि शव पोष्टमार्टमका लागि पठाइनेछ ।
