७१ वर्षीय मन्त्रीद्वारा बस यात्रा गर्दै वन अवलोकन

लुम्बिनी प्रदेशका तराईका ६ जिल्ला घुम्ने क्रममा करिब ८ सय किमि यात्रा बसमै

चैत्र ३१, २०८१

मनोज पौडेल

A forest tour by a 71-year-old minister on a bus tour

कपिलवस्तु — उनी हुन् लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवार । उनलाई मन्त्रीले चढ्ने झण्डावाल स्कार्पियो गाडीको सुविधा छ । तर, ७१ वर्षीय उनी बस र मोटरसाइकलमै यात्रा गर्न रुचाउँछन् ।

सेतो धोती र कुर्तामाथि आस्कोट उनको सधैंको पहिरन हो । धोतीको तल खसेको टुप्पो माथि आस्कोटको गोजीमा झुण्ड्याउँछन् । यही पहिरनले उनको पहिचान स्थापित छ । 

उच्च ओहदावाललाई मात्र होइन, झुपडीमा बस्ने भुइँमान्छेलाई पनि उनी सधैं हात जोडेर आदर सम्मान गर्छन् । सन्त र सालिन स्वभावका उनी सन्तु उपनामले पनि चिनिन्छन् । उनै कलवारले सरकारले दिएको झण्डावाल गाडीको सुविधा छाडेर वन तथा वातावरण मन्त्रालयको अगुवाइमा लुम्बिनी प्रदेशमा संचालित सम्वर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यक्रमको प्रभावकारिता अध्ययन अवलोकन गर्न बस यात्रामै निस्किएका हुन् । 

मन्त्री कलवारले लुम्बिनी प्रदेशका तराईका ६ जिल्ला बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीको करिब ८ सय किमि यात्रा बसमै गरेका थिए । 

प्रदेशको कृषि, वन र वातावरण समितिका पदाधिकारी, मन्न्त्रालयका अधिकारी, वनविज्ञ र सरोकारवालालाई लिएर हिँडेको बसमा उनी पनि सवार थिए । मन्त्रीले आफ्नै नेतृत्वमा ३ दिन बसमा यात्रा गर्दै ६ जिल्लाका १२ सामुदायिक, साझेदारी र चक्ला वनको अनुगमन गरे । उपझोक्तासँग अन्तरर्त्रिया गर्दै वनका बारेमा जिज्ञासा राखे । ‘राम्राभन्दा नराम्रा कुरा धेरै आउँथ्यो,’ मन्त्री कलवारले भने, ‘कसरी वन व्यवस्थापन गरिएको रहेछ भनेर हेर्न फिल्डमै उत्रिएको हुँ । त्यसमा पनि झण्डा हल्लाउँदै पुग्नुभन्दा सर्वसाधारण जस्तै बनेर पुग्दा वास्तविक कुरा थाहा हुने रहेछ ।’ 

मन्त्रालयले वन अवलोकनका लागि बस रिजर्भ गरेको थियो । त्यही बसमा सवार भएर वन अवलोकन भ्रमण गरेको मन्त्री कलवारले सुनाए । A forest tour by a 71-year-old minister on a bus tour

आफूले यसअघि ३ जना वनमन्त्रीलाई मन्त्रालयमा स्वागत गरेर पद बहाली गराए पनि कलवारजत्तिको सरल र सामान्य मन्त्री अर्को नदेखेको मन्त्रालयका सचिव मोहनराज काफ्लेले सुनाए । ‘मन्त्रीज्यूमा वनबारे जान्ने र बुझ्ने जिज्ञासा प्रचूर रहेछ,’ उनले भने, ‘उदाहरणीय काम गरेर देखाउने मनैबाट इच्छा छ । कर्मचारीसँगै मन्त्री एउटै बसमा हिँडेर अरुलाई असल सन्देश दिन खोज्नु भएझैं लाग्यो ।’ 

नवलपरासीको प्रतापपुर गाउँपालिका–६, गुठिप्रसौनी घर भएका उनलाई जिल्लावासीले ‘किसान नेता’को पनि उपनाम दिएका छन् । सधैं किसानका मुद्दा उठाउँदै आएका कलवारको राजनीतिक यात्रा किसान पृष्ठभूमिबाटै अघि बढेको हो । ‘उहाँ प्रायः बस र मोटरसाइकलमै यात्रा गर्न रुचाउनु हुन्छ,’ मन्त्रीका स्वकीय सचिव मनोज सिंहले भने ।

गत कात्तिक ७ गते मुख्यमन्त्री चेतनारायण आचार्यले तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्दा उनलाई कांग्रेसको कोटाबाट वन तथा वातावरण मन्त्रीको जिम्मेवारी दिइएको हो । राजनीतिमा लागेको ४५ वर्षपछि ७१ वर्षको उमेरमा मन्त्री बनेका कलवारको राजनीति र व्यक्तिगत जीवन लोकप्रिय रहे पनि आफूले सम्हालेको मन्त्रालयको कामलाई उनले कसरी लोकप्रिय बनाउँछन्, त्यो भने हेर्न बाँकी नै छ । 

मनोज

Link copied successfully