छोराको मुद्दामा प्रमाण खोज्न घर पुग्दा बाबु अवैध हतियारसहित पक्राउ

चैत्र ३०, २०८१

मनोज पौडेल

The father was arrested with illegal weapons when he went home to find evidence in his son's case

कपिलवस्तु — कपिलवस्तुमा लागूऔषध ओसारपसार मुद्दामा पक्राउ परेका छोराका सम्बन्धमा थप प्रमाण खोज्न घर पुगेको प्रहरी टोलीले बाबुलाई नै अवैध भरुवा बन्दुकसहित पक्राउ गरेको छ। वाणगंगा नगरपालिका–१ बैरियाका ५८ वर्षीय गंगाराम थारु शुक्रबार साँझ आफ्नै घरबाट पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको टोलीले गंगारामको घर खानतलासी गर्दा उनी सुत्ने कोठामा लुकाइराखेको अवस्थामा एक थान अवैध भरुवा बन्दुक फेला पारेको हो। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनमणि अधिकारीका अनुसार बन्दुक बरामद भएपछि गंगारामलाई नियन्त्रणमा लिइएको छ।

प्रहरीका अनुसार गंगारामका २५ वर्षीय छोरा प्रकाश थारुलाई चैत्र १७ गते सीमा क्षेत्रबाट लागूऔषध (ब्राउन सुगर) सहित पक्राउ गरिएको थियो। इलाका प्रहरी कार्यालय पकडीको टोलीले मायादेवी गाउँपालिका–३ बरगदवामा लु ९ प २७७१ नम्बरको मोटरसाइकल जाँच गर्दा ट्याङ्कीभित्र लुकाइएको ४ ग्राम ५० मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो।

सोही लागूऔषध मुद्दाको अनुसन्धानका क्रममा थप प्रमाण जुट्न सक्ने आशंकामा प्रहरीले प्रकाशको घरमा खानतलासी गर्ने अनुमति लिएको थियो। खानतलासीकै क्रममा बाबु गंगारामको कोठाबाट अवैध बन्दुक बरामद भएको डीएसपी अधिकारीले बताए।

पक्राउ परेका गंगाराममाथि हातहतियार तथा खरखजाना ऐन अन्तर्गत मुद्दा चलाइने र छोरा प्रकाशमाथि लागूऔषध ऐन अन्तर्गत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका गंगाराम र प्रकाश बाबुछोरा हुन्।

मनोज

Link copied successfully