परासी — पूर्व-पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्कीबासमा १० घण्टादेखि अवरुद्ध राजमार्ग सञ्चालनमा आएको छ । शनिबार बिहान आएको वर्षाले विनयी खोलामा रहेको डाइभर्सन बगाएपछि यातायात अवरुद्ध भएको थियो ।
खोलामा पानीको सतह घटेपछि नयाँ डाइभर्सन निर्माण गरेर राति ९ बजेबाट यातायात सञ्चालन गरिएको हो । डाइभर्सनबाट एकतर्फी यातायात सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनक बन्जराले बताए ।
जाम खुलेपछि १० घण्टादेखि रोकिएका यात्रु गन्तव्यतर्फ लागेका छन् । पुस २६ गते दुम्कीबासमा रहेको विनयी खोलामा अत्यधिक भारबहन रहेको भारतीय लहरीले पुलमा ठक्कर दिएपछि पुल भासिएको थियो । पुल भासिएपछि डाइभर्सन निर्माण गरिएको थियो ।
