विनयी खोलामा डाइभर्सन मर्मत थालियो

चैत्र ३०, २०८१

नवीन पौडेल

Diversion maintenance started on Vinayi river

परासी — पूर्व-पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्कीबासमा बगाएको डाइभर्सन मर्मत सुरु भएको छ । विनयी खोलामा आएको बाढीले आज बिहान ११ बजेतिर डाइभर्सन बगाएको थियो ।

पानीको सतह घटेकाले दुई वटा एक्स्काभेटरमार्फत अहिले पहिलाकै स्थानमा डाइभर्सन निर्माण भइरहेको प्रहरीले जनाएको छ । दाउन्नेमा जारी सवारी जाम र डाइभर्सन बगेपछि पश्चिममा बुटवल र काठमाडौंबाट यो खण्डमा आउने बसलाई चितवनको मुग्लिङबाट डाइभर्ट गरिएको छ ।

विनयी खोलामा रहेको पुल पुस २६ गते अत्यधिक भारवहनको सवारीको ठक्करबाट भासिएपछि डाइभर्सन निर्माण गरिएको थियो । शनिबार बिहान परेको वर्षाका कारण खोला बढेपछि डाइभर्सन बगाउँदा यातायात अवरुद्ध भएको हो ।

अत्यावश्यक र साना सवारीलाई वैकल्पिक मार्गबाट सञ्चालनमा ल्याए पनि मालबाहक र ठूला सवारी भने बिहानदेखि नै जाममा छन् । सडक विभाग र प्रशासनले बुटवल नारायणगढ सडकखण्डको यात्रा गर्दा सडकको अवस्था बुझेर मात्र गर्न र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

नवीन पौडेल पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully