चार्टर उडानमा भियतनामबाट १८० पर्यटक लुम्बिनी आउँदै

चैत्र ३०, २०८१

कान्तिपुर संवाददाता

180 tourists coming to Lumbini from Vietnam on charter flight

काठमाडौँ — भियतनामबाट आउँदो वैशाख ५ मा १८० जना बौद्ध धर्मावलम्बी चार्टर विमानमा भैरहवा आउने भएका छन् । भियतनाम एयरलाइन्सको विमानबाट १८० जना पर्यटक सिधै भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने काठमाडौंस्थित रुप्से होलिडेजका प्रबन्ध निर्देशक रमेश पराजुलीले जनाए । 

‘हामीले भियतनामबाट पहिलो पटक लुम्बिनीमा सिधा चार्टर उडान गर्दै छौं,’ पराजुलीले भने, ‘यो चार्टर उडान भियतनाम र नेपालबीचको धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका लागि आयोजना हुन लागेको हो ।’ 

भैरहवामा अवतरण हुने पर्यटक शुक्रबार लुम्बिनीमा आयोजना हुने विशेष पूजामा सहभागी हुनेछन् । वैशाख ६ मा लुम्बिनीबाट सडकमार्ग हुँदै उनीहरू भारतको बनारस जानेछन् । उनीहरूलाई भैरहवामा ल्याउने चार्टर विमान भैरहवाबाट खाली भियतनाम नै फर्किने पराजुलीको भनाइ छ । दोस्रो चरणमा रुप्से होलिडेजले दुइटा चार्टर उडान भियतनामबाट काठमाडौंका लागि गर्दै छ । आउँदो जेठ २ र १२ मा ती उडान हुने पराजुलीले बताए । 

रुप्सेले यसअघि भियतनाम–काठमाडौंमा थुप्रै पर्यटकीय चार्टर उडान गराइसकेको छ ।

कान्तिपुर

Link copied successfully