बुटवल — गणतन्त्रको पक्षमा नेकपा एमालेले शुक्रबार बुटवलमा प्रदर्शन गर्दैछ । राजावादीहरु सक्रिय भएको भन्दै उनीहरुको विरुद्ध र गणतन्त्रको पक्षमा एमालेले प्रदर्शन गर्न थालेको हो । प्रदर्शनलाई सम्बोधन गर्न पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेलसहितका नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।
एमालेले चैत २४ देखि ३० गतेसम्म देशका विभिन्न ७ सहरमा प्रदर्शन गर्ने निर्णय गरेको थियो । त्यसै अर्न्तगत बुटवलमा पनि देशको वर्तमान अवस्था जानकारी गराउने र गणतन्त्रका पक्षमा प्रदर्शन गर्ने उद्देश्यसहित कार्यक्रम गर्न लागिएको एमाले जिल्ला अध्यक्ष यज्ञ गैरेले बताए । बुटवलमा हुने आजको सभा प्रदेशस्तरीय हुने उनले बताए । सभा रामनगरस्थित बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी)मा हुनेछ ।
एमाले सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले प्रतिगामी गतिविधिकाविरुद्ध जनतालाई सचेत पार्दै लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउने प्रदर्शनको पहिलो उद्देश्य रहेको बताइन् । ‘लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै गणतन्त्रको पक्षमा राष्ट्रिय जागरण अभियान चलाइएको हो,’ उनले भनिन्, ‘लुम्बिनी प्रदेशको बुटवलमा गर्दैछौं ।’ सरकारमा भएको पार्टीले किन सभा गरेको भनेर पनि प्रश्न उठेका छन् । तर, पार्टी सरकारमा भएपनि व्यवस्थाविरुद्ध भएका गलत प्रचारलाई आम नागरिकलाई बुझाउन जरुरी भएको उनले दाबी गरिन् । पार्टीबाट काम गर्ने क्रममा केही कमजारी भएपनि त्यसलाई सच्चाएर अघि बढ्ने र व्यवस्थाको रक्षा गर्ने सबै लोकतान्त्रिक पार्टीहरुको दायित्त्व भएको उनले बताइन् । उनले एमालले जनचाहना अनुसार काम गर्न नसकेको सत्य भएको बताउँदै त्यो सुधारसहितका विषयमा प्रस्ट कुराहरू पार्टीले राखिरहँदा पनि केही समूहले अनर्गल प्रचार गरेको बताइन् ।
एमाले लुम्बिनी प्रचार विभाग सचिव डिआर घिमिरेले बुटवलमा हुन लागेको सभा एमालेको मात्र नभएर गणतन्त्र पक्षधर सबै दलको भएको बताए । ‘आयोजक एमाले भए पनि यसमा गणतन्त्र पक्षधर सबैको सहभागिताका लागि आहृवान गरेका छौं,’ उनले भने, ‘यसले गणतन्त्रको पक्षमा र राजावादीहरुको विपक्षमा जनआकांक्षा कस्तो छ स्पष्ट सन्देश दिनेछ ।’
सभापूर्व बुटवलबाट भैरहवासम्म ५ हजार मोटरसाइकल र ५०० सय गाडीसहितको र्याली निकालिने, त्यसपछि पूर्वमा मुटुअस्पताल, दक्षिणमा कालिकाचोक, उत्तर र पश्चिमबाट जम्मा भएको टोली अस्पताल लाइन जम्मा भएर रामनगरस्थित कार्यक्रम स्थलमा पुग्ने एमालले जनाएको छ ।
