ब्राउन सुगरजस्तो पदार्थसहित एकजना पक्राउ

चैत्र २९, २०८१

कमल पन्थी

One arrested with brown sugar-like substance

बर्दिया — प्रहरीले ब्राउन सुगरजस्तो खैरो धुलो पदार्थसहित एक जनालाई पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–७ कर्णालीपुरबाट १ ग्राम २ सय ९० मिलिग्रामसहित एकजनालाई पक्राउ परेका हुन् ।

भारतको सीमावर्ती बजार बलैगाउँ हुँदै साइकल चढेर आएका बाँके कोहलपुर–४ विकास नगरका २२ वर्षीय रामु खड्कालाई शंका लागि जाँच गर्दा उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ । ब्राउन सुगरजस्तो देखिने दुई पुरिया प्लास्टिकमा बेरिएको पदार्थ ज्याकेट भित्र फेला परेको  जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डीएसपी ऋषिराम घर्तीमगरले बताए ।

शुक्रबार खड्कालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरिएको छ । उक्त पदार्थ परीक्षण गर्न विधि विज्ञान प्रयोगशाला धनगढी पठाउने प्रहरीले जनाएको छ ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully