सम्वर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापनबारे सरोकारवालालाई बुझाउन जोड

चैत्र २९, २०८१

कान्तिपुर संवाददाता

Emphasis on informing the stakeholders about forest management based on the promotion system

भैरहवा — लुम्बिनी प्रदेश अन्तर्गत तराईका ६ जिल्लामा सम्वर्द्धन प्रणालीमा आधारित रहेर संरक्षण र व्यवस्थापन गरिएका सामुदायिक, साझेदारी र चक्ला वनको प्रभावकारिताबारे अनुगमन गरिएको छ । प्रदेशको वन तथा वातावरण मन्त्रालयको अगुवाइमा ६ जिल्लामा संरक्षण गरिएका वनहरूको अनुगमन गरिएको हो । यस क्रममा सहभागीले सम्वर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापनबारे उपभोक्ता र सरोकारवालालाई बुझाउनु पर्नेमा जोड दिए ।

बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीमा चैत २६ गतेदेखि तीन दिने अनुगमन सुरु भएको थियो । अनुगमनमा वनमन्त्री देवकरण कलवार, मन्त्रालयका सचिव, प्रदेशसभाको कृषि, वन तथा वातावरण समितिका सभापति विश्वप्रेम पाठक लगायत सदस्य र सरोकारवालाहरू सहभागी थिए ।

वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्लेले सामुदायिक, साझेदारी वन उपभोक्ता समूह र वन डिभिजन तथा आफैंले व्यवस्थापन गरेका चक्ला वन व्यवस्थापनका क्रियाकलापको अनुगमन गरिएको जानकारी दिए । उनले भने, ‘सम्वर्द्धन प्रणालीबाट व्यवस्थापन र संरक्षण गरिएको वनको प्रभावकारिता बुझ्न र उपभोक्तासँग अन्तर्क्रियाका लागि अनुगमन गरिएको हो ।’

सम्वर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापनको सुरुवात २०७१ सालबाट भएको हो । सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि जारी गरेपछि यस प्रणालीमा आधारित वन व्यवस्थापन थालिएको हो । प्रदेशमा कपिलवस्तुको तिलौराकोट साझेदारी वनबाट यसको सुरुवात गरिएको थियो । सचिव काफ्लेले भने, ‘विभिन्न चुनौतीका बाबजुद वैज्ञानिक वन व्यवस्थापन अगाडि बढाउने क्रममा २०७७ मा कार्यविधि खारेज भयो । मुलुक संघीयतामा गएपछि वन क्षेत्रका कानुन निर्माणको क्रममा ऐन, नियमावली र मापदण्डअनुसार कार्यक्रमलाई पुनः अगाडि बढाइएको हो ।’

मन्त्रालयका अनुसार हाल ३६५ सामुदायिक, ८ साझेदारी र २ चक्ला वनमा सम्वर्द्धन प्रणालीअनुसार व्यवस्थापन भइरहेको छ । अनुगमनमा सहभागी मन्त्री कलवारले सम्वर्द्धन प्रणाली वैज्ञानिक भएकाले वन व्यवस्थापन राम्रो देखिएको बताए । उनले भने, ‘नयाँ बिरुवा हुर्काउने, त्यसलाई रेखदेख गरेर निश्चित अवधिपछि व्यवस्थापन गर्ने कुरा वैज्ञानिक लाग्यो । तर, वन संरक्षणबाट प्राप्त हुने लाभ बाँडफाँडमा पनि ध्यान दिनुपर्छ ।’ उनले वन्यजन्तुका लागि आवश्यक जलाशयको निर्माण आवश्यक रहेको बताए ।’

‘प्रदेशसभाको कृषि, वन तथा वातावरण समितिका सभापति विश्वप्रेम पाठकले सम्वर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापनबारे धेरै टिकाटिप्पणी सुनिएकाले वास्तविकता बुझ्न अनुगमन गरिएको बताए । उनले भने, ‘यो प्रणाली वैज्ञानिक र प्राविधिक भएकाले सरोकारवालालाई अभिमुखीकरण गर्न जरुरी छ ।’ प्रदेश वन निर्देशनालयका निमित्त महानिर्देशक यज्ञमूर्ति खनालले वन क्षेत्रमा नयाँ रुख रोपण गरेपछि गोडमेल, काटछाँट गरेर हुर्काउने र उमेर पुगेपछि कटान गर्ने चक्रलाई सम्वर्द्धन प्रणाली भनिने बताए । उनले भने, ‘निरन्तर यस्ता क्रियाकलाप सञ्चालन गर्दै दिगो उत्पादन लिन सकिने प्रणाली नै सम्वर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन हो ।’

‘योजना महाशाखा प्रमुख प्रभात सापकोटाले वन क्षेत्रमा खेर गएका काठको सदुपयोग गर्न सके रोजगारी तथा राजस्व वृद्धि हुने बताए । उनले भने, ‘धेरै वन क्षेत्रमा पुराना र धोद्रा रुख मात्र छन्, नयाँ रुख देखिँदैनन् । त्यस्ता स्थानमा पुराना रुख विस्थापित गरेर नयाँ र उपयोगी रुख उमार्ने काम सम्वर्द्धन प्रणालीबाट गर्न सकिन्छ ।’

कान्तिपुर संवाददाता

Link copied successfully